Home > News & Events > पोखराको आकासमा सयर गर्दा ५० प्रतिशत छुट

पोखराको आकासमा सयर गर्दा ५० प्रतिशत छुट

पोखराको आकासमा सयर गर्दा ५० प्रतिशत छुट

कोरोना महामारीबाट थलिएका पर्यटन व्यवसायीले आन्तरिक पाहुना तान्न छुटका योजना ल्याउन थालेका छन्। पोखराको आकासमा पर्यटकलाई सयर गराउने अल्ट्रालाइट जहाज र जाइरोकप्टर (हेलिकप्टर स्वरूप) ले आन्तरिक पाहुना तान्न शुल्कमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन्।

कोरोनाबाट पर्यटन व्यवसाय थलिएको र त्यसलाई उकास्न छुट ल्याउन बाध्य भएको उनीहरूको भनाइ छ। पोखराको आकासमा पाहुना घुमाउने जाइरोकप्टर उडान गरिरहेको हेली एयर नेपाल प्रालिका प्रबन्ध निर्देशक सन्तबहादुर लामिछानेले आन्तरिक पाहुनालाई आकर्षण गर्न पनि छुट प्याकेज ल्याएको बताए।

जाइरोकप्टरका पाइलटसमेत रहेका उनले भने, ‘यो बेला व्यवसाय जसरी नि धान्नुपर्ने छ। कमाउने बेला छैन, तर, व्यवसाय टिकाइरहन पनि छुट नदिई सुखै छैन।’ उनका अनुसार १५ मिनेटको छोटो उडानमा पहिला पर्यटकले १३ हजार रूपैयाँ तिर्नुपर्नेमा अहिले ६ हजार पाँच सय तिरे पुग्छ। त्यस्तै आधा घण्टाको (फिस्टेल) २३ हजार रूपैयाँ पर्ने गरेकोमा अहिले ११ हजार पाँच सय पर्छ। एक घण्टाको (अन्नपूर्ण) उडानमा पहिला ४३ हजार रूपैयाँ पर्नेमा अहिले २१ हजार पाँच सय रूपैयाँ पर्छ।

‘दिनमा आधा दर्जन हाराहारीमा उडान भएका छन्। यो आम्दानीले व्यवसाय चलायमान बनाउने मात्र हो,’ लामिछानेले भने, ‘कम्तिमा आन्तरिक पर्यटकलाई आकर्षण गर्न सकिएको छ। व्यवसाय चलाउने मेसो बनेको छ।’ उनका अनुसार आधा छुटको आम्दानीले कम्पनीलाई नाफा हुने नभई व्यवसायले निरन्तरता भने पाउँछ। ‘कोरोनाको यो त्रासका बेला कमाउने अवस्था भएको छैन, व्यवसाय सञ्चालन गर्ने मात्र हो,’ उनले भने, ‘आकासमा उड्ने साधनलाई भुँइमा अड्याइराख्दा नोक्सानी बढ्ने मात्र हो। त्यही भएर चलायमान बनाउन खोजेका हौं।’

आन्तरिक पाहुनालाई घुमाएर भएपनि व्यवसाय चलिरहेको छ भन्ने देखाउन सकिएको उनले बताए। ‘सधैं ताला लगाएर बसेर पनि भएन, व्यवसायमा ताला लगाउँदा कमाइ हुँदैन, नोक्सानी बढ्दै जाने मात्र हो,’ लामिछानेले भने, ‘कम्तिमा व्यवसाय चलायमान बनाउन सकेका छौं।’ अहिलेको छुट कोरोनाको अवस्था सामान्य नभएसम्म रहिरहने उनले बताए। यो बेला आउने विदेशीले पनि छुट पाउने उनले बताए। आन्तरिक पर्यटक आउन थालेको र केही भारतीय पाहुना थपिने हो भने व्यवसाय थेग्न सकिने उनले बताए। ‘पर्यटन तत्कालै लयमा फर्किने अवस्था छैन। खर्च धानेर व्यवसाय टिकाइरहन सकियो भने त्यो नै उपलब्धि हुनेछ,’ उनले भने, ‘जुन दिनदेखि कोरोना कहर सकिन्छ, त्यसपछि बल्ल कमाइ होला।’ कोरोनाका कारण गत चैतदेखि रोकिएको जाइरोकप्टरको उडान तीन साताअघि मात्र पुनः सञ्चालनमा आएको थियो। यो बेला केही आन्तरिक पर्यटक पोखरा घुम्न आएकाले उनीअहरूलाई उडाउन पाएको पाइलट लामिछानेले बताए।

पोखराकै आकासमा पाहुनालाई सयर गराउने अल्ट्रालाइट जहाजमा पनि आधा छुट घोषणा गरिएको छ। पोखराको आकासमा पाहुना सयर गराउने तीनवटा अल्ट्रालाइट कम्पनी रहेपनि अहिले पोखरा अल्ट्रालाइट मात्र सञ्चालनमा छ। अरू दुई कम्पनी अझै सञ्चालनमा आउन सकेका छैनन्। दसैंपछि पुनः सञ्चालन भएको पोखरा अल्ट्रालाइटले भने पाहुनालाई शुल्कमा आधा छुट दिने घोषणा गरेको सञ्चालक पोमनारायण श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार सबैखाले उडानमा ५० प्रतिशत छुट दिइनेछ। १५ मिनेटको उडानमा पहिला ११ हजार रूपैयाँ पर्नेमा अहिले पाँच हजार पाँच सय शुल्क पर्ने उनले बताए। त्यस्तै ३० मिनेटको उडानमा पहिला २० हजार र अहिले नौ हजार पाँच सय, एक घण्टाको उडानमा पहिला ३८ हजार पर्नेमा अहिले १९ हजार रूपैयाँ मात्र पर्ने श्रेष्ठले बताए। उनका अनुसार यो छुट आगामी मार्चसम्म लागू हुनेछ। ‘पर्यटनको अवस्था कुन रूपमा अघि बढ्छ, त्यही अनुसार छुटको समय बढाउन सकिन्छ,’ उनले भने, ‘अहिले पूरै शुल्क लिने अवस्था छैन।’

आधा छुटले खर्च मात्र धान्न सकिने उनले बताए। नाफा कमाउनका लागि नभई व्यवसाय चलायमान बनाउन छुट दिएर पाहुना आकर्षणको प्रयास गरेको सञ्चालक श्रेष्ठले बताए। ‘५० प्रतिशतको छुटले व्यवसाय मात्र चल्छ, कमाई हुँदैन,’ उनले भने, ‘अहिले कमाइ हुने अवस्था छैन। व्यवसायलाई निरन्तरता दिनु नै ठूलो उपलब्धि हो।’ कोरोना संक्रमण त्रासका कारण चैतदेखि रोकिएको अल्ट्रालाइटमा अहिले दैनिक आधादर्जन जति उडान भइरहेका छन्।

केही दिनअघि नयाँ वर्षका कारण पोखरामा आन्तरिक पाहुनाको चहलपहल बढेसँगै केही भारतीय पाहुना पनि थपिएका थिए। ती भारतीय पाहुना पनि अल्ट्रालाइट जहाज चढ्न पुगेका थिए। ‘आन्तरिक पर्यटक र केही भारतीय पाहुना थपिने हो भने हाम्रो व्यवसाय चलायमान हुन्छ,’ उनले भने, ‘तत्कालका लागि कमाउने भन्दा पनि व्यवसाय टिकाउनका लागि छुट दिएका छौं। कम्तिमा व्यवसायले निरन्तरता पाएको छ।’

प्रकाशित: २६ पुस २०७७ ०७:३८ आइतबार

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *