Home > News & Events > भारतसँगका सिमा नाका खोल्न होटल संघको माग

भारतसँगका सिमा नाका खोल्न होटल संघको माग

भारतसँगका सिमा नाका खोल्न होटल संघको माग

पोखरा /

कोभिड– १९ को महामारीसँगै बन्द रहेका नेपाल भारत विचका सिमा नाका अविलम्ब खोल्न पश्चिमाञ्चल होटल संघ पोखराले माग गरेको छ ।

संघका अध्यक्ष विकल तुलाचनले संस्थाका तर्फबाट मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारसमक्ष त्यस्तो माग गरेका हुन् । यही विषय समेटेर संस्थाको पदाधिकारी मण्डलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी एक ध्यानाकर्षण पत्र समेत प्रदान गरेको अध्यक्ष तुलाचनले जानकारी दिए ।

ध्यानाकर्षण पत्रमा भनिएको छ– “विगतका तथ्याङ्क अनुसार नेपाल आगमन हुने पर्यटकहरु मध्ये सबै भन्दा बढी हिस्सा छिमेकी मुलुक भारतबाट स्थलमार्ग हुँदै आगमन हुने भारतीय पर्यटकहरुको रहेको छ । छिमेकी मुलुकबाट पर्यटकहरु भित्र्याई वर्तमान समयमा देखिएको पर्यटकको अभाव केही हदसम्म पूर्ति गर्न सकिने अवसर हुँदा हुँदै सरकारले स्वास्थ्यको नाममा अनेकन वहानावाजी बनाई सिमा नाकाहरु हाल सम्म बन्द गरेको अवस्थाप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

छिमेकी मुलुक तथा अन्य देशहरुबाट हवाईमार्ग हुँदै आउने पर्यटकहरुलाई अनुमति प्रदान गरिएको अवस्था, राजनैतिक तथा अन्य गतिविधिहरुको भेला, सभा, सम्मेलन निर्वाध रुपमा संचालन भईरहेको, सम्पूर्ण पर्यटकीय गतिविधि र गन्तव्य खुली सकेको स्थितिमा पर्यटन व्यवसायलाई राहत प्रदान गर्न र वर्तमान समयमा पर्यटकको अभावलाई पूर्ति गर्न आवश्यक स्वास्थ्य सुरक्षाका सावधानी, मापदण्ड र कार्यविधि अपनाई भारतसँग जोडिएका सिमा नाकाहरुलाई अविलम्ब पुनः संचालन गरी पर्यटकहरु भित्र्याउने वातावरण मिलाउन गण्डकी प्रदेश सरकार समक्ष जोडदार माग गर्दछौं ।”

Parichay

एक वर्षदेखि विश्व महामारिको रुपमा सुरु भएको कोभिड–१९ को संक्रमणको कारण पर्यटन आगमन सुस्ताएसँगै संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा गत चैत्र ११ गते बाट शुरु गरिएको लकडाउन गत असोज महिना पश्चात् अन्त्य भए पनि हाल सम्म पर्यटन तथा होटल व्यवसाय करिव शुन्य अवस्थामा रहेको संघका अध्यक्ष तुलाचनले जानकारी गराए ।

हाल नेपाल सरकारले होटल, रेष्टुरेण्ट, हिमाल आरोहण, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिहरु संचालनका लागि अनुमति प्रदान गरेता पनि अन्तर्राष्ट्रिय पर्यटकहरुको आगमन अत्यन्त न्यून रहेको समेत ध्यानाकर्षण पत्रमा स्मरण गराइएको छ । वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय पर्यटकहरुको आगमनमा आएको शुन्यतालाई चिर्न र दिगो पर्यटन विकासका लागि आन्तरिक पर्यटन मुख्य मेरुदण्ड रहेता पनि हालको आन्तरिक पर्यटकहरुको आगमनले पोखरा लगायत अन्य पर्यटकीय गन्तव्यहरुको अकुपेन्सी आबश्यक मात्रामा पूर्ति गर्न सक्ने स्थित नरहेको समेत संघले जनाएको छ ।

सरकारद्वारा आर्थिक बर्ष २०७७÷०७८ को बजेट वक्तव्यमा घोषणा गरेको पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुले साना, मझौला र ठूला व्यवसायीहरुलाई प्रदान गर्न आनाकानी गरेको, प्रदेश तथा स्थानीय निकायहरुबाट पनि होटल व्यवसायलाई थप राहतका कार्यक्रमहरु पर्याप्त मात्रामा नल्याइएको र केही ल्याइएका घोषित राहतका कार्यक्रमहरु व्यवसायीहरुले प्राप्त नगरेको, कोभिड १९ को अति प्रभावित व्यवसायको रुपमा होटल तथा पर्यटन व्यवसाय भएतापनि हाल सम्म कुनै पनि प्रकारको राहत प्याकेज प्राप्त गर्न नसकेको गुनासो संघको रहेको छ ।

विद्युत महशुलमा छुट तथा सहुलियत नपाएको र हालको अवस्थामा विद्युत माग शुल्क तथा अन्य विभिन्न कर तिर्न र व्यवसाय संचालन खर्च समेत धान्न सक्ने अवस्था नभएको, वर्तमान परिस्थितिमा कयौं होटल प्रतिष्ठानहरु बन्द भई व्यवसायी पलायनको क्रममा रहेको, लामो समयको लकडाउन पछि संचालनमा आएका होटलहरु पुनः बन्द हुने अवस्था, खर्बौं रुपैयाँ लगानी र हजारौंलाई रोजगार प्रदान गर्ने गरी होटल तथा पर्यटन व्यवसाय संचालन गर्ने तयारीमा रहेका व्यवसायीहरु बन्द गर्नु पर्ने बाध्यात्मक परिस्थिति रहेको जस्ता समस्या समेत संघले अवगत गराएको छ ।

उल्लेखित समस्याहरुको सरकारद्धारा समयमै सम्वोधन नभएमा होटल व्यवसाय खोलि रहन सक्ने स्थिति नरहने हुँदा तालाचावी सहित व्यवसाय राज्यलाई हस्तान्तरण गर्नु पर्ने वाध्यात्मक परिस्थिति सिर्जना नगर्न र त्यसबाट देखापर्ने परिस्थतिको जिम्मेवार सरकार तथा सम्बन्धित पक्ष बन्नुपर्नेतर्फ समेत संघले सरकारलाई सचेत गराएको छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *