Home > News & Events > सिनेमा–टुरिजमः फिल्मले चिनाउँछ गन्तव्य

सिनेमा–टुरिजमः फिल्मले चिनाउँछ गन्तव्य

सिनेमा–टुरिजमः फिल्मले चिनाउँछ गन्तव्य

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा भएको फिल्म र पर्यटन सम्बन्धि छलफल । तस्बिरः नागरिक

सुदर्शन थापाले निर्देशन गरेको पहिलो फिल्म थियो ‘मेरो एउटा साथी छ’ । दशकअघिको त्यो फिल्ममा थापाले अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको पर्यटकीय गाउँ घान्द्रुकलाई पनि अटाएका थिए । थापाको फिल्ममा घान्द्रुक अट्नुको कारण थियो–घान्द्रुक पर्यटकीय गाउँ हो । पर्यटनले चिनिएको घान्द्रुकसँग फरक संस्कृति र सुन्दरता छ । त्यही सुन्दरतासँग लोभिएका उनले फिल्मको गीतमा घान्द्रुकलाई समेटेका थिए ।

घान्द्रुक साच्चैको पर्यटकीय गाउँ हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्रको यो गाउँ अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको प्रवेशद्वार पनि हो । त्यही घान्द्रुकसँग आफ्नै कला, संस्कृति, रहनसहज र सुन्दरता छ । त्यसबाहेक त्यहाँबाट देखिने माछापुच्छे«, र अन्नपूर्ण रेञ्जको दृष्यले त घान्द्रुक पुगेका सबैलाई मोहित तुल्याउँछ ।

पर्यटनले पहिचान कमाएको घान्द्रुकलाई फिल्मकर्मीले प्राकृतिक स्टुडियो नै मान्छन् । त्यही प्राकृतिक स्टुडियो घान्द्रुकमा अहिलेसम्म धेरैवटा फिल्म छायांकन पनि भइसकेका छन् । गीतमा त घान्द्रुक धेरैवटामा अटेको छ । पर्यटनमा अब्बल पहिचान बनाएको घान्द्रुक धेरैवटा फिल्ममा समेटिँदा त्यसको सकारात्मक प्रभाव पर्यटनमा पनि पर्ने फिल्मकर्मी र पर्यटन व्यवसायीको बुझाई छ ।

उनीहरु भन्छन्, ‘फिल्म र पर्यटनको एकअर्कासँग सम्बन्ध छ । फिल्ममार्फत पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको फ्रेममा विशेषतः पोखरा र आसपासका क्षेत्र अटाएका छन् । आगामि दिनमा मुलुकका थप ग्रामीण क्षेत्रलाई प्राकृतिक स्टुडियोको रुपमा प्रयोग गर्दा पर्यटन र फिल्म दुवै क्षेत्रमा विकास हुने उनीहरुको बुझाई छ ।

फिल्म र पर्यटनको यही विषयमा छलफल गर्न पर्यटकीय क्षेत्र घान्द्रुकमा सरोकारवाला बहसमा पनि जुटेका छन् । फिल्म र पर्यटनको त्यो बहसको चाँजोपाँजो मिलाएको थियो चलचित्र पत्रकार संघ कास्कीले । ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’बारे घान्द्रुकमा मंगलबार बहस गर्दै फिल्मकर्मी र पर्यटन व्यवसायीले पर्यटन र फिल्मको सम्बन्धबारे प्रस्ट्याउने प्रयास गरे ।

छलफलमा सहभागि थिए, फिल्म निर्देशक सुदर्शन थापा र पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई । थापा र भट्टराइलाई जोडेका थिए पत्रकार वासु मिश्रले । यो बेला कोरोना भाइरस संक्रमणले सबै क्षेत्रलाई ध्वस्त बनाउँदा पर्यटन र चलचित्र पनि जोगिन नसकेको वक्ताहरुको भनाई थियो । थापाले भने, ‘पर्यटन र सिनेमा एकदमै जोडिएको विषय हो । सिनेमा छायांकनका लागि विभिन्न ठाउँमा पुगिन्छ, ती ठाउँ पर्यटनमा अब्बल हुनसक्छन् । फिल्मले तिनै गाउँका सुन्दरता दर्शकसामु पस्किँदा त्यसको लाभ पर्यटनमा मिल्छ ।’

थापा फिल्म छायांकनकै लागि १२ वर्ष अघि घान्द्रुक उक्लेका थिए । फिल्म सुटिङका लागि नयाँपुलदेखि खच्चरमा सामान बोकाएर घान्द्रुक आएको स्मरण गर्दै उनले भने, ‘सिनेमा मार्फत पनि पर्यटन उकास्न सकिन्छ । म त्यसबेला (१२ वर्ष अघि) र अहिले आउँदा घान्द्रुक धैरै नै बदलिएछ । केही हदसम्म टेलिफिल्मले पनि चिनायो घान्द्रुकलाई, त्यसबाहेक फिल्मको पनि केही योगदान त पक्कै छ । विकास निर्माण पनि निकै नै उकासिएछ ।’

थापाका अनुसार आधादर्जन हाराहारी फिल्ममा घान्द्रुक समेटिएको छ । उनका अनुसार ‘सेतो सुर्य’ पनि घान्द्रुकमा छायांकन भएको थियो । शिशिर राणाको निर्देशनमा बनेको ‘तिमी सँग’ भन्ने पनि फिल्म घान्द्रुकमा छायांकन भएको थियो । यो फिल्मको कथाबस्तु त झनै पर्यटनसँग सम्बन्धि थियो । टुरिष्ट गाइडको प्रेमकथामा फिल्म आधारित थियो ।

पर्यटकीय गाउँ घान्द्रुक । तस्बिरः नागरिक

सिनेमा र गीतसंगीतले पर्यटकीय क्षेत्रको रुपमा कुनैपनि ठाउँ विशेषलाई चिनाउन सघाएपनि त्यसको विकास निर्माणमा सहयोग गरि नै हाल्ने भने नहुने निर्देशक थापाको मत छ । उनले भने, ‘मुस्ताङमा सुटिङ गर्दा ‘के यो माया हो ? फिल्म खिच्यौं तर त्यसमा भूगोलको चर्चा भएन । पछि त्यहीँ प्रेम गीत खिच्यौं । घाँसादेखि मुस्ताङसम्मको क्षेत्रलाई स्टोरीमा बाँधेर देखाउँदा स्थानीयको प्रतिक्रिया राम्रो पायौं । फिल्म हेरकै भरुमा आन्तरिक पर्यटन पुग्दा अझ राम्रो सुनियो । गाउँठाउँ, भेषभूषा, कल्चरलाई देखाउन सक्यौं भने रुचिका साथ दर्शकले हेर्न पाउँछन् ।’

बहसमा सहभागि पर्यटन व्यवसायी भट्टराईले पनि फिल्मको माध्यमबाट पर्यटनको पनि प्रवद्र्धन हुने बताए । उनले भने, ‘सिनेमाको माध्यमबाट विश्वका धेरै ठाउँहरु पर्यटकीय हव बनेका छन् । सिनेमाबाट पोखरा आसपासका क्षेत्रले पहिचान बटुलेका छन् । अहिले पर्यटन संस्थाहरु अस्ताएको हो कि भन्ने लाग्छ । त्यसमासमन्वय जरुरी छ ।’ पर्यटन सम्बद्ध संस्थाहरुको सहयोग सिनेमा क्षेत्रलाई पर्याप्त नभएको पो हो की ? पर्यटन परिषद्का अध्यक्ष भन्छन्, ‘माया त गरेकै छौं तर समन्वय नभएको चाहिँ हो । विगतमा भएको कमजोरी भन्दा पनि आगामी दिनमा राम्रो गर्दै जाने हो ।’

उक्त प्रसंगमा निर्देशक थापाको मत केही फरक थियो । उनले भने, ‘कुनै ठाउँलाई सिनेमाले पर्यटन क्षेत्रलाई उकास्यो भने पनि धन्यवाद पाएनौं । हामी पनि छायांकन सकेर त्यो ठाउँसँग दोहो¥याएर सम्बन्ध राखेनौं । स्थानीयस्तरमा त धेरथोर होला तर सम्बद्ध निकायसँग छैन ।’

घान्द्रुकका व्यवसायी पनि पर्यटन र सिनेमाको सम्बन्ध रहेको स्वीकार्छन । ‘घान्द्रुकलाइ चिनाउन फिल्मको पनि भूमिका छ, घान्द्रुक पर्यटकीय गाउँ बाहेक फिल्मकर्मीका लागि प्राकृतिक स्टुडियो पनि हो,’ घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले भने, ‘घान्द्रुक धेरैवटा फिल्ममा समेटिएको छ । फिल्ममा देखेकै भरमा सुन्दर गाउँ पछ्याउँने पर्यटक पनि हुन्छन् ।’

प्रकाशित: १३ माघ २०७७ १७:११ मंगलबार

 खुशी 0 %
 दुखी 0 %
 अचम्मित 0 %
 हास्यास्पद 0 %
 क्रोधित 0 %
अर्को समाचार
कला

‘साहित्यमाथि सिनेमा बनेन्, बन्न पनि सकेनन्’

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा साहित्य र सिनेमासम्बन्धि छलफल । तस्बिरः नागरिक

नेपाली सिनेमा साहित्यमा आधारित छन् । साहित्यीक कृतिमाथि सिनेमा बनाइएको छ । पुराना होस या नयाँ सबैखाले साहित्यीक कृतिमा सिनेमा बन्ने गरेका छन् । पुस्ताले अत्यधिक रुचाइएको उपन्यास ‘समर लभ’ माथि सिनेमा बनेको छ । यसअघि कृतिहरु सेतो बाघ, वसन्ती, झोला जस्ता कृतिमा आधारित रहेर सिनेमा बनेको इतिहास छ ।

कृतिले समाजको परिवेशलाई झल्काएको हुन्छ । कालखण्डलाई कृतिमार्फत वर्णन गरिएको हुन्छ । कुनै कृतिले समसामयिक परिवेशलाई चित्रित गरेको हुन्छ । कृतिमा सिनेमा निर्माण हुँदा साहित्यसँगको सम्बन्धलाई जोडिदिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित सुन्दर घान्द्रुक गाउँमा चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाको आयोजनामा ‘सिनेमा संवाद एट घान्द्रुक कार्यक्रम’मा दोस्रो तथा अन्तिम सेसन ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ विषयमा छलफल गरिएको थियो । सत्रमा कलाकार दीपकराज गिरी, लेखक गनेश पौडेल, कवि भूषिता वशिष्ठ र दिनेश डिसीले सहजीकरण गरेका थिए । सहजकर्ता डिसीले साहित्यीक कृतिमाथि बनेका फिल्महरुको समीक्षा अनुभवबारे गरेको प्रश्नलाई कवि भूषिताले सिनेमाको संवादमा मौलिकता हुनुपर्नेमा जोड दिईन् ।

कलाकार दीपकराज गिरीले लेख्ने र बोल्ने चिज दुवै फरक भएको बताए । ‘व्यावहारिक जीवनसँग जोडिने संवादले सिनेमामा दर्शकलाई जोड्छ । साहित्यबाट सिनेमा रुपान्तरित हुन्छ जब सहजता अनिवार्य रुपमा हुनैपर्ने हुन्छ,’ उनको भनाई थियो । साहित्यमाथि सिनेमा पर्याप्त मात्रामा नबन्नुको कारण सिनेमाकर्मी दर्शकसँग डराएको कलाकार गिरीको अनुभव सुनाए । उनले भने, ‘लेखिने र बोलिनेमा फरक हुन्छ नै । जटिलता हुने कारणले गर्दा पनि होला नेपालमा साहित्यमाथि सिनेमा बनेन्, बन्न पनि सकेका छैनन् ।’

लेखक गनेस पौडेलले पञ्चायती व्यवस्थाको ह्याङओभर अझै पनि नेपाली सिनेमाबाट उत्रिन नसकेको जिकिर गरे । ‘पञ्चायतमा राजा महेन्द्रले नेपाली सिनेमामा प्रयोग गरिने संवादलाई शुद्धिकरण गर्न र भाषिक एकीकरण गर्नका लागि पात्रले बोल्ने संवाद मौलिक लागेनन् । त्यसको ह्याङओभर अझै बाँकी छ । सिनेमा कला हो भाषा होइन,’ उनले भने । आफ्नो परम्परा र संस्कृतिलाई घुसाएर हरेक प्रकारका कला सिनेमामा देखाउन सकिने उनले बताए ।

बलिउड फिल्मको दृश्यलाई उल्लेख गर्दै कुनै भिलेनले हिरोलाई लखेट्दा होली मनाइरहेको दिन खेदेको देखाइने बताए । त्यसले परम्परा र संस्कृतिलाई पनि फिल्मको संवादसँगै चित्रण गरेको उनको भनाई थियो ।  कलाकार गिरीले भने एकाध बनेका चलचित्रलाई गनेर चलचित्र क्षेत्रको इतिहासलाई ५० वर्ष मान्न नहुने बताए । प्रजातन्त्रको पुर्नस्थापना पछि नै नेपाली सिनेमाको उत्थान भएको हो । ३० वर्षको मात्र नेपाली सिनेमाले यात्रा पार गरेको उनको बुझाई छ ।

‘उपन्यासमा डायलग थोरै र विवरण धेरै हुन्छन् । सिनेमा दृश्य भाषामा बोल्नु पर्ने हुन्छ त्यसमा पनि सीमितता छ । अर्को बजेटले पनि प्रभाव पार्छ,’ कलाकार गिरीले भने, ‘मार्केटले भन्छ, दुईकरोड भन्दा माथि लग्यो भने डुब्यौं । एउटा भिलेनले हिरोलाई लखेटेको सिन देखाउनलाई होली सिनका लागि पाँचसय मान्छे जम्मा पार्न बजेटले नथेग्ने हुन्छ ।’ साहित्यसँग सिनेमाको साझेदारीको प्रश्नमा कवि भूषिताले सिनेमाकर्मी साहित्यकारसँग डराउन नहुने बताइन् ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *