Home > News & Events > कोरोनाबाट सुरक्षित छौं भनी प्रचार गर्न सके पर्यटकको ओइरो लाग्छ

कोरोनाबाट सुरक्षित छौं भनी प्रचार गर्न सके पर्यटकको ओइरो लाग्छ

कोरोनाबाट सुरक्षित छौं भनी प्रचार गर्न सके पर्यटकको ओइरो लाग्छ’

'कोरोनाबाट सुरक्षित छौं भनी प्रचार गर्न सके पर्यटकको ओइरो लाग्छ'

काठमाडौं : २०७२ सालमा गएको भूकम्प र त्यससँगै भारतीय पक्षबाट गरिएको नाकाबन्दीका बेला समग्र नेपालको पर्यटन उद्योग धरासायी बनेको थियो । पर्यटकीय राजधानीको रुपमा परिचय पाएको पोखरा पनि त्यस सयम निकै संकटमा पुगेको थियो । उक्त संकटलाई अहिलेको कोभिड–१९ को कहरले पुनः ताजा बनाएको छ ।

पोखरेली पर्यटन व्यवसायीका अनुसार कोरोना कहरले पर्यटन उद्योग फेरि खुल्छ कि खुल्दैन् भन्ने अन्यौंलसमेत बनाएको छ । कोरोनाकै कारण कतिपय पर्यटन व्यवसायी सधैंका लागि समेत विस्थापित भएका छन् ।

कोरोना कहर र कहरले पर्यटन उद्योगमा पारेको प्रभावबारे हामीले पोखरेली पर्यटन व्यवसायीसँग कुराकानी गरेका छौं । पोखरा पर्यटन परिषदका उपाध्यक्षसमेत रहेका पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठसँग मुख्यतः पोखराको पर्यटन व्यवसायबारे केन्द्रीत रहेर गरिएको कुराकानीको संवादित अंश :

नेपालमा कोरोना कहर कम हुुँदै गएको छ । कहर कम हुँदै गर्दा पर्यटन क्षेत्रको हबको रुपमा परिचित पोखराको अवस्था कस्तो छ ?

कोभिड–१९ को कारण समग्र नेपालकै पर्यटन क्षेत्र नाजुक अवस्थामा छ । पर्यटकीय केन्द्रको रुपमा रहेको पोखरा झन् अप्ठ्यारो अवस्थामा छ । तर पनि हामी जागरुप भएर उठ्ने जर्मर्को गर्दैछौं । यहाँका व्यवसायीहरु पर्यटन क्षेत्रलाई पुनः चलायमान गराउन सकिन्छ भएर सक्रियतापूर्वक लाग्नुभएको छ । अहिले पर्यटन परिषद पनि सक्रियतापूर्वक अगाडि बढेको छ । अहिलेको स्थितिअनुसार अगाडि बढ्न हामी आन्तरिक पर्यटनलाई आर्कषित गर्ने गरि गतिविधिहरु गरिरहेका छौं । हाम्रो मिशन पनि आन्तरिक पर्यटकलाई जति सक्दो धेरै पोखरामा भित्र्याउने तर्फ केन्द्रीत छ । हाम्रा प्रोमोशनल कार्यक्रम पनि त्यसैतर्फ केन्द्रीत छन् ।

कोरोना कहरले पर्यटन क्षेत्रमा निकै ठूूलो क्षति भयो भन्ने छ । व्यवसायी र व्यवसायीहरुको नेतृत्व गर्ने ठाउँमा बसेर हेर्दा अवस्था कस्तो देख्नुभएको छ ?

लगानीको हिसाबले पोखरामा मात्रै हेर्दा पर्यटन क्षेत्रमा खरबौंको लगानी छ । निरन्तर र नियमित लगानीहरु यो क्षेत्रमा भित्रिरहेको थियो । तर, पछिल्लो भ्रमण वर्ष २०२० को नाममा पोखरामा निकै ठूलो लगानी भित्रियो । कोरोना कहरले ति सबै लगानीलाई अन्यौंलमा पुर्‍याएको छ । सुरु नै नभई व्यवसाय बन्द हुन पुगेपछि लगानीकर्ता निकै निराश छन् ।

अर्कोतर्फ लगानी गरेर सञ्चालनमा आएका धेरै व्यवसाय पनि कोरोना कहरका कारणले ठूलो नोक्सानीमा परेका छन् । अहिले कुनै पनि पर्यटन व्यवसायीसँग बैंकलाई ब्याज तिर्ने हैसियत छैन् । मेरो बुझाईमा अझै डेढ दुई वर्ष हामीले धैर्यताका साथ कुर्नुपर्ने स्थिति छ ।

यो अवस्थामा कतिपय व्यवसायी विस्थापित पनि हुनुभएको छ । हाम्रो अनुमानमा ३० प्रतिशत जति विस्थापित भईसकेको अवस्था छ । केहि साथीहरु केहि होला भनेर एउटा अठोट र आँटका साथ पर्खाइमा पनि हुनुहुन्छ ।

तपाईँले भनेजस्तै ‘नेपाल भ्रमण वर्ष २०२०’को नाममा भित्रिएको सबै लगानी डुब्ने स्थिति भयो । के पोखरेली पर्यटन व्यवसायी विस्थापित हुुनुुमा पनि यसको भूमिका बढि छ ?

भिजिट वर्ष २०२० को नाममा पोखरामा निकै लगानी भित्रिएको थियो । कोरोनाको कारण ति सबै लगानी अन्यौंलमा पर्ने स्थिति मात्रै बनेन् कतिपय लगानीकर्ता सधैँका लागि विस्थापित हुने अवस्थामा पनि पुगे ।

भिजिट २०२० को नारामै फाइभ स्टार र फोर स्टार लेबलका होटलहरु पनि थपिए । हाम्रो तथ्यांकमा साना थ्रि स्टार र टु स्टार होटलहरु मात्रै त्यहि नारामै ४०/५० को संख्यामा सुरु हुँदै थिए । ति सबै व्यवसायी व्यवसाय सुरु नहुँदै अन्यौंलमा पुगेका छन् । सञ्चालनमा भईरहेकालाई पनि धान्न निकै कठिन परेको छ ।

पर्यटन उद्योगभित्र पनि धेरै प्रकृतिका व्यवसायी छन् । योबीचमा अलिबढि कुन प्रकृतिका व्यवसायी विस्थापित भए ? 

भूकम्प र भारतीय नाकाबन्दीले जसरी व्यवसायको प्रकृतिअनुसार असर गरेको थियो कोरोनाले पनि त्यसैगरि असर गरेको देखिन्छ । समग्रमा सबै व्यवसायलाई समस्यामा पारेको भएपनि ट्राभल, टान र होटेल क्षेत्रलाई निकै संकटमा पुर्‍याएको देखिन्छ ।

अहिलेसम्म पनि ती व्यवसायमा व्यवसायीक गतिविधि शुन्य बराबर नै छ । अन्तराष्ट्रिय उडान सुरु हुन सकेको छैन् । आन्तरिक पर्यटन पनि त्यति चलायमान हुने अवस्थामा छैन् । ट्रेकिङ्ग जाने पनि अधिकांश विदेशी नागरिक नै हो । त्यसकारण ट्रेकिङ्ग पनि शुन्य नै छ । अलि अलि होटेलहरु चलेको छ । समग्रमा होटेलहरु पनि चल्ने अवस्थामा छैनन् ।

अहिले त कोरोना खोप पनि आएको छ । कोरोनाको खोप बनेसँगै केही उत्साह देखिएको भन्ने छ । यसको संकेत कस्तो पाउनुभएको छ ?

कोरोना खोप नेपालमा पनि भित्रिसकेको छ । लगाउने क्रम जारी छ । सरकारीसँगै निजि क्षेत्रले पनि कोरोना खोप भित्र्याउँदैछ । मलाई लाग्छ, कोरोना खोप आएर सबैले लगाउने स्थिति भयो भने जनजीवन सामान्य तिर जान्छ ।

योबीच व्यवसायलाई तत्काल सुरुवात गर्ने स्थिति बनाउन बाह्य उडानलाई निर्वाध सुचारु गर्न तर्फ लाग्नुपर्छ । भारतको सीमाबाट भित्रने पर्यटकलाई पनि सहज गर्नुपर्छ ।

ठमेलका पर्यटन व्यवसायी आन्दोलित छन् । उनीहरुले अराइभल भिषादेखि पर्यटक आगमनलाई सहज हुने केही मुद्दाहरु अगाडि उठाउनुभएको छ । यसबारे पोखराका व्यवसायीको धारणा के हो ?

राज्यले अब ढिलो नगरी अराइभल भिषा खुल्ला गर्नुपर्छ । खोप लगाएकालाई सहज रुपमा भिषा दिने व्यवस्था हुनुपर्छ । आउने पर्यटकलाई आवश्यकअनुसार पिसिआर परिक्षण गर्ने र क्वारेन्टिको व्यवस्था गर्ने तर्फ सरकारले कार्यक्रम ल्याउनुपर्छ । अहिले पिसिआर परिक्षणको पनि केहि घण्टामै नतिजा हेर्न सकिने व्यवस्था छ । परिक्षणको अवधिभर विशेष निगरानीमा राख्ने व्यवस्था मिलाउन सकिन्छ । नेगेटिभ आयो भने गन्तव्यमा जान दिने र पोजेटिभ आयो भने त्यहि अनुसारको व्यवस्था गर्न सकिन्छ ।

उत्तर र दक्षिणका सबै सीमा खुल्ला गर्नुपर्छ । उडान र सीमालाई निर्वाध खुल्ला गर्ने वातावरण तत्कालै मिलाउनुपर्छ ।

राज्यले पनि विस्तारै पर्यटन क्षेत्रलाई खुल्ला गर्ने नीति लिएको छ । यो स्थितिमा पर्यटन व्यवसायीको पनि दायित्व रहन्छ कि रहँदैन ? के छ तपाईँहरुको तयारी ?

म पनि व्यवसायी हुँ । मेरो होटेलमा पनि सरकारले भनेका सबै मापदण्ड पालना भएका छन् । मसँगै सबै व्यवसायीले त्यसरी पालना गरेको देखिन्छ । अहिले भएका पर्यटकलाई पनि त्यसैगरि ध्यान राखिएको छ ।

सरकारलाई फेरि पनि अनुरोध छ, पर्यटकलाई बोलाउन ढिलो गर्न हुँदैन् । स्वास्थ्यलाई एक नम्बरमा ख्याल गर्दै बोलाउनु पर्छ ।

कोरोनाकै कारण धरासायी हुने मात्रै नभएर विस्थापित हुने अवस्था पनि बन्यो । यो अवस्थामा व्यवसायीका लागि सरकारले ल्याएको कार्यक्रमहरु कति अर्थपूर्णं छन् ? के मान्नुभएको छ ?

सरकारले व्यवसायीको मागअनुसार सहुलियतपूर्णं कर्जाको व्यवस्था गराउँछौ भन्यो तर, अहिलेसम्म एकजना व्यवसायीले पनि कर्जा लिन पाएका छैनन् । घोषणा गर्दैगर्दा उत्साहित व्यवसायी निराश हुने अवस्था आएको छ । यो अन्यौंलतालाई सरकारले तत्कालै सम्बोधन गर्न आवश्यक छ ।

अर्कोतर्फ, व्यवसायीहरुले लिएको ऋणको ब्याज तिर्न नसकेर अप्ठ्यारोमा पर्ने स्थिति पनि छ । सरकारसँग हाम्रो माग, लिएको ऋणमा ब्याज सहुलियत दिने व्यवस्था गरियोस् भन्ने हो । हामीले ऋण तिर्छौं तर, ब्याज सहुलियत र ऋण तिर्ने भाकालाई कम्तिमा दुई वर्ष थप गरियोस् ।

अहिले कुनै पनि व्यवसायीसँग साँवा, ब्याज तिर्ने हैसियत छैन् । पक्कै पनि कोरोना खोप सर्वसुलभ हुँदै गर्दा अवस्था सामान्य होला । सहज भएसँगै नेपालको पर्यटनले अर्को फड्को मार्ने पक्का छ । त्यो अवस्थामा व्यवसायीहरुलाई ऋण तिर्न समस्या हुँदैन तर, अहिले अवस्था छैन् ।

अहिले विश्वभरका पर्यटक घरमै थुनिएर रहेका छन् । उनीहरु घुम्न आतुर छन् । यस्तो अवस्थामा सरकारले पर्यटक भित्र्याउन तत्कालै कदम चाल्नुपर्छ । छिटोभन्दा छिटो बाह्य उडान खुल्ला गर्ने र सीमा खुल्ला गर्ने नीति लिनुपर्छ । सरकारले नेपाल घुम्न निकै सुरक्षित छ भनेर प्रचार गर्न आवश्यक छ । कोरोनाले नेपाल अन्य देशजस्तो प्रभावित भएको अवस्था होइन् । हामीले यसलाई प्रचार गरेर पर्यटनबाट फाईदा लिनुपर्छ ।

सहुुलियतपूर्णं कर्जाको सन्दर्भमा राज्यले नीति ल्याउँदा समस्या भयो कि व्यवसायीले माग गर्दा प्रक्रिया मिलेन ? समस्या कहाँ देखियो ?

सरकारले घोषणा गरेको राहत कसरी लिन सकिन्छ भनेर हामी व्यवसायी लागेका छौं । तर, वित्तिय संस्थाहरुले घोषणा भएको भएपनि कार्यविधि नआएको भन्दै अल्झाईरहनु भएको छ । त्यसकारण सरकारले भनेका कुराहरु छिटोभन्दा छिटो कार्यान्वयन ल्याउनु पर्‍यो । हाम्रो माग सरकारले घोषणा गरेको राहत हामीले समयमै पाउनु पर्‍यो भन्नै नै हो । कहाँ समस्या हो राज्यले ध्यान दिन पर्‍यो । बैंकहरुले पनि सस्तो कर्जा, पुनर्कर्जा छिटोभन्दा छिटो हामीलाई दिलाई दिनु पर्‍यो ।

अन्तिममा कोरोनाको कारण धरासायी बनेको यो उद्योगलाई पुनः चलायमान गराउन सरकारको तर्फबाट र स्वंय व्यवसायीको तर्फबाट के–कस्तो कार्यक्रम ल्याउन आवश्यक छ ? कस्ता नीतिहरु बन्न आवश्यक छन् ? तपाईँ व्यवसायी र व्यवसायीको छाता संगठनको तर्फबाट के भन्नुहुन्छ ? 

सुरुमा व्यवसाय चलायमान गराउन तर्फ राज्यले तत्कालै कार्यक्रम ल्याउन आवश्यक छ । त्यसको लागि हवाईमार्गबाट आउने पर्यटक, दक्षिण र उत्तरी सीमाबाट आउने पर्यटकलाई सहज वातावरण बनाईदिनुपर्‍यो । पर्यटकको लागि अनअराइभल भिसा तत्कालै खुल्ला गरिदिनुपर्‍यो ।

सरकारले विभिन्न देशहरुमा कुटनीतिक पहलमार्फत नेपाल सुरक्षित छ, कुनै समस्या छैन भन्ने सन्देश संसारभर पुुर्‍याइदिनुपर्‍यो । व्यवसायीलाई किस्ता र ब्याज तिर्नको लागि कम्तीमा दुुई वर्षको अवधी तोकिदिनुपर्‍यो । आन्तरिक पर्यटकलाई चलायमान गराउन सातामा दुई दिन बिदा दिने कार्यक्रमलाई जतिसक्यो छिटो लागु गरिदिनुुपर्‍यो । अर्कोतर्फ सरकारीसँगै निजि क्षेत्रले पनि वर्षको एक/दुई पटक आफ्ना कर्मचारीलाई अनिवार्य घुम्न जाने व्यवस्था गरिदिनुपर्‍यो ।

हामी व्यवसायीको तर्फबाट पनि आन्तरिक रुपमा पर्यटन प्रबद्र्धन गर्ने कार्यक्रमलाई निकै आक्रामक रुपमा अगाडि बढाएका छौं । हालै मात्र नाट्टा गण्डकी प्रदेश र बाँके नाट्टाले पोखरादेखि नेपालगञ्ज जाने उडानको सुरुवात भएको छ । यसले मुख्यतः भारतीय पर्यटकलाई पोखरा भित्र्याउन र पोखराका पर्यटकलाई पश्चिम नेपाल क्षेत्रका पर्यटकीय क्षेत्र पुर्‍याउन सहज पुर्‍याउनेछ ।

पर्यटन परिषदको तर्फबाट पनि सबै पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीसँग समन्वयन गरेर पर्यटन प्रबद्र्धन गर्ने गतिविधिहरु अगाडि बढाईरहेका छौं । यसलाई हामी बृहत रुपमा अगाडि बढाउँछौं । हामी विशेष गरि भारतका विभिन्न ठाउँहरुमा तत्कालै पर्यटन प्रबद्र्धनका कार्यक्रम चलाउँछौं । हामी कम्तीमा पोखरालाई केन्द्रीत गरेर कम्तीमा वर्षेनी १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित काम गरिरहेका छौं ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *