Home > News & Events > चिनियाँ पर्यटक भित्र्याउन भाषाको महत्व बढी: मन्त्री किरण गुरुङ

चिनियाँ पर्यटक भित्र्याउन भाषाको महत्व बढी: मन्त्री किरण गुरुङ

चिनियाँ पर्यटक भित्र्याउन भाषाको महत्व बढी: मन्त्री किरण गुरुङ

account_box जमुना वर्षा शर्मा/रासस ,

प्रकाशित: २०७७ फागुन २३, आइतबार ,०६:४९:PM
चिनियाँ पर्यटक भित्र्याउन भाषाको महत्व बढी: मन्त्री किरण गुरुङ

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले चिनियाँ पर्यटक भित्र्याउन भाषाको भूमिका महत्वपूर्ण हुने बताएका छन ।

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स  (नाट्टा) गण्डकीले आयोजना गरेको एक महिने चिनियाँ भाषा तालिमको समापन समारोहमा मन्त्री गुरुङले भाषाको माध्यमबाट चिनियाँ पर्यटकलाई थोरै अनुपातमा भए पनि नेपाल भित्र्याउन सके  पर्यटन क्षेत्रमा ठूलो लाभ लिन सकिने बताएका हुन ।

अधिकांश चिनियाँ नेपाल घुम्न आउँदा भाषाको समस्या झेल्नु परेको यथार्थ सुनाउँदै भाषाकै कारण नेपालको रहन सहन सांस्कृतिक परम्पराको बारेमा चिनियाँ पर्यटकलाई बुझाउन समस्या भएको बताए । उनले कोभिड– १९ को कारण शिथिल बनेको पर्यटनलाई चलायमान बनाउन  आउने पर्यटकका लागि गुणस्तरीय सेवामा  जोड दिनुपर्ने उनको भनाइ थियो ।

मन्त्री गुरुङले भाषा जति बोल्यो त्यति सहज हुने र नबोले बिर्सन सकिने भएकाले सहभागीलाई तालिम उपलब्धि पूर्ण बनाउन अभ्यासमा ध्यान दिएर भाषामा पोख्त हुन समेत आग्रह गरे ।

व्यवसायीको राहतको लागि प्रदेश सरकारले व्यवसाय पुर्नजीवकोष मार्फत ऋण उपलब्ध गराएको जानकारी दिदै उनले पर्यटन प्रवद्र्धन र विकासका लागि व्यवसायीसँग छलफल गरेर आगामी योजना तय गरिने बताए ।

नेपाल पर्यटन बोड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले चीनमा नेपाललाई स्रोत बजारको रुपमा चिनाउन सके यस क्षेत्रबाट लाभ लिन सकिने धारणा राखे ।

उनले चिनियाँ भाषा क्लिष्ट भएकाले एक महिनाको तालिम पर्याप्त नभए पनि आधारभूत  ज्ञान मार्फत् चिनियाँ पर्यटकलाई सेवा दिन सकिने उनको विश्वास थियो । “भाषाले परम्परा रीतिरिवाज भेषभूषा आनिबानीको बारेमा बुझ्न र बुझाउन सकिन्छ, जब पर्यटकले आफ्नो मौलिक भाषा अर्को नागरिकबाट सुन्छन्, उनीहरुमा सकारात्मक धारणाको विकास हुन्छ ।” उहाँले पर्यटनमा यस्तो कुराले निकै अर्थ राख्ने भएकाले पर्यटकलाई खुशी र सन्तुष्ट बनाउनु पर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले कोभिड –१९ को कठिन अवस्थाबाट पनि पर्यटन व्यवसायी निरास नभइ व्यवसाय पुनःसञ्चालनमा अग्रसर भइरहेको जनाउँदै सरकारले पर्यटनमैत्री वातावरण तयार गरेर सकारात्मक भूमिका खेल्नुपर्ने बताए । उनले नीजि क्षेत्र सरकारलाई सघाउन तत्पर रहेको बताउँदै सरकारले पनि व्यवसायीको समस्यालाई बुझेर अक्सिजन प्रदान गर्नुपर्ने धारणा राखे ।

सो अवसरमा उनले प्रदेश सरकारको व्यवसाय जीवन रक्षा कोष र सरकारले ल्याएको  मौद्रिक नीति कार्यान्वयनको देखिएका जटिलताका र ढिलासुस्तिको बारेमा समेत मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।

तालिमका संयोजक खिमबहादुर नेपाली (क्रिस)ले कोभिड– १९ पछाडि धेरै चिनियाँ पर्यटक नेपाल आउन उत्साहित रहेको जनाउँदै आगामी दिनमा पर्यटकलाई भाषाका कारणा  समस्या भोग्नु नपरोस् भनेर तालिम सञ्चालन गरेको जानकारी दिए । उनले एक महिने तालिमबाट पर्यटन क्षेत्रका आधारभूत कुरालाई मध्यनजर गरेर भाषा सिकेको जनाउँदै अब आधारभूत कुराहरुमा सांकेतिक संवाद गर्नु नपर्ने बताए ।

नाट्टाका कार्यवाहक अध्यक्ष हरिराम अधिकारीले पर्यटन पुनरुत्थानको विभिन्न गतिविधिसँगै संस्थाले चिनियाँ पर्यटकलाई लक्षित गरेर भाषा तालिम सञ्चालन गरेको जानकारी दिए । उनले भने “पर्यटन क्षेत्रमा सबैभन्दा पहिला भाषाको ज्ञान अनिवार्य जस्तो हुँदो रहेछ । अरु पर्यटक भन्दा चिनियाँ पर्यटकलाई भाषाकै कारण सेवा दिन धेरै कठिन भइरहेको गुनासो आएपछि भाषा तालिम दिएका हौँ ।”  उनले भाषा तालिमले अब आउने दिनमा केही सहज हुने विश्वास व्यक्त गरे ।

तालिममा सहभागी विकास निरौलाले भाषा निकै कठिन भए पनि एक महिनाको तालिमले आधारभूत ज्ञान हासिल गर्न सफल भएको अनुभव सुनाए । प्रशिक्षक चिनियाँ नागरिक लिन्दाले एक महिनाको तालिमले पूर्ण  ज्ञान हासिल गर्न  नसकिने भएकाले भाषाको बारेमा निरन्तर अभ्यास गरेर अघि बढ्न सहभागीलाई आग्रह गरे ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सञ्चालित तालिममा संस्थाका ३६ जना सदस्यको सक्रिय सहभागिता रहेको र तालिम पश्चात सम्पूर्ण प्रमाणपत्र वितरण गरिएको नाट्टाका महासचिव कमला गिरीले जानकारी दिए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *