Home > News & Events > आन्तरिक पर्यटनको प्रवर्द्धन

आन्तरिक पर्यटनको प्रवर्द्धन

आन्तरिक पर्यटनको प्रवर्द्धन

कोरोना संक्रमणले मुलुकको समग्र क्षेत्रमा प्रभाव पारे पनि पर्यटन क्षेत्रलाई धेरै नै असर गरेको छ भने यो क्षेत्र अहिलेसम्म पनि उठ्न सकेको छैन । पछिल्लो समय कोरोना संक्रमणको दरमा कमी आएसँगै आन्तरिकरूपमा पर्यटन क्षेत्रमा थोरै चहलपहल भए पनि त्यो अझै पनि न्यून नै छ । अर्काेतिर पर्यटन क्षेत्रले विदेशी पाहुनाको अनुहार देख्न नपाएको त वर्ष दिन भइसकेको छ । चाहे यसअघि स्थापित भइसकेका पर्यटन व्यवसायी हुन् वा यो क्षेत्रमा लाग्दै गरेका नयाँ व्यवसायी नै किन नहोउन्, कोरोना संक्रमणका कारण सबै प्रभावित भएका छन् । बैंकहरूबाट लिएका ऋण तिर्ने कुरा त परै जाओस्, सामान्य सञ्चालन खर्च बेहोर्नसमेत उनीहरूलाई अप्ठ्यारो पर्न थालिसकेको छ । अझ भर्खरै यो व्यवसायमा हात हालेकाहरू झनै मर्कामा परेका छन् । विशेषगरी पर्यटन वर्षलाई आधार बनाउँदै व्यवसायीहरूले पछिल्लो समय यो क्षेत्रमा आक्रामक ढंगले लगानी बढाएकै हुन् । एकातिर कोरोना संक्रमणले पर्यटन वर्ष नै रद्ध गर्नुपर्ने अवस्था आयो भने अर्काेतिर पर्यटन क्षेत्र सामान्य हिसाबले समेत अघि बढ्न सकेन । यसले गर्दा व्यवसायीहरूको लगानी नै डुब्ने खतरा पनि उत्तिकै छ ।

राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको पर्यटन क्षेत्र यति धेरै अप्ठ्यारोमा पर्दा सरकारले मद्दत गर्नुपर्ने हो । तर सरकारले समग्र अर्थतन्त्रलाई उकास्ने गरी नै राहतको प्याकेज ल्याउनुपर्ने हो । त्यसो त सरकारले राहतका केही कार्यक्रम नल्याएको पनि होइन तर ती कार्यक्रम पर्याप्त छैनन् । त्यसमाथि सरकारले कोरोना संक्रमणका कारण भएको समग्र क्षतिको आकलन गरी ती क्षेत्र सुधारका लागि त्यसैअनुरूप कार्यक्रमहरू ल्याउनुपर्ने हो । तर सरकारले समग्र क्षतिको सूक्ष्म हिसाबले आकलन गरेको देखिँदैन । त्यसमाथि कोरोनाले पुर्‍याएको क्षतिका आधारमा विभिन्न क्षेत्रहरू वर्गीकरण गर्नुपर्ने हो । र, त्यही आधारमा ती क्षेत्र उकास्नका लागि अलग–अलग किसिमका राहतका कार्यक्रमहरू ल्याउनुपर्ने हो । तर, सरकारले त्यसतर्फ पर्याप्त ध्यान दिएको देखिँदैन ।

पर्यटन क्षेत्रलाई उकास्न पोखराका पर्यटन व्यवसायीहरूले सुरु गरेको ‘जाउँ है पोखरा’ अभियान अन्य सहरका व्यवसायीहरूका लागि पनि अनुकरणीय हुन सक्छ । यसका साथै सरकारले पनि पर्यटन व्यवसायीहरूको यो अभियानलाई टेवा पुग्ने गरी कार्यक्रमहरू ल्याउन जरुरी छ । त्यसो भयो भने पर्यटन क्षेत्रले केही हदसम्म भए पनि राहत महसुस गर्न सक्छ ।

कोरोनाले पुर्‍याएको क्षतिका आधारमा हेर्ने हो भने पर्यटन क्षेत्र अति प्रभावित समूहमा पर्ने कुरामा कुनै शंका छैन । त्यसैले पनि पर्यटन क्षेत्र सुधारका लागि सरकारले विशेष कार्यक्रम ल्याउने कुरामा व्यवसायी आशावादी नभएका पनि होइनन् । तर सरकारबाट त्यस किसिमको कार्यक्रम नआएपछि व्यवसायी आफैँले विभिन्न किसिमका प्रयास सुरु गरेका छन् । यसैको परिणामस्वरूप व्यवसायीहरूले तत्कालको अवस्थामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने किसिमका कार्यक्रमहरू ल्याउन थालेका छन् । स्वदेशी एवं आन्तरिक पर्यटककै भरमा अहिले आफ्नो व्यवसाय सञ्चालनका लागि ढोका मात्रै खोल्न सकेका व्यवसायीहरू यसलाई अलि बढाएर व्यवसाय टिकाउने तयारीमा लागेका छन् । त्यस्तै रणनीतिअन्तर्गत पोखराका पर्यटन व्यवसायीहरूले ‘जाउँ है पोखरा’ अभियानमार्फत आन्तरिक पाहुनालाई पोखरा बोलाउन विभिन्न सहरमा प्रवद्र्धनात्मक अभियान चलााएका छन् । त्यसो त अझै केही समय तेस्रो मुलुकका पाहुना आउने सम्भावना कम भएकाले त्यो बेलासम्म आन्तरिक पर्यटनकै भरमा व्यवसाय धान्नुपर्ने अवस्था आएकाले पनि व्यवसायीहरूले यस किसिमका अभियान थालेका हुन् । पश्चिमाञ्चल होटल संघले यसपटक पश्चिम नेपालका विभिन्न सहरमा प्रवद्र्धन अभियान थालेको हो । स्थानीय व्यवसायीसँग सहकार्य गर्दै आन्तरिक पर्यटकलाई पोखरा बोलाउने योजना पनि व्यवसायीले अघि सारेका छन् ।

व्यवसायीहरूले ‘जाउँ है पोखरा’ अभियान यसपटक पश्चिम नेपालको नेपालगन्ज, बर्दिया, धनगढी र महेन्द्रनगर सहरमा गर्न लागेका हुन् । गत मंसिरको अन्तिममा उनीहरूले पूर्वी नेपालका सहरमा यस्तै अभियान चलाएका थिए । त्यो अभियानले पूर्वका पाहुना पोखरा आउन थालेपछि व्यवसायी उत्साहित भएका हुन् । र, त्यसैअनुसार अभियानलाई विभिन्न स्थानमा बढाएका हुन् । त्यसो त आन्तरिक पर्यटकलाई समेत केही अप्ठ्यारो भए पनि अहिले जुन हिसाबले स्वदेशी पाहुना आएका छन्, त्यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित देखिएका हुन् । यस्ता प्रवद्र्धनात्मक कार्यक्रममार्फत आन्तरिक मात्र नभई क्रस बोर्डर पर्यटनमार्फत पनि लाभ लिन सकिने उपाय व्यवसायीहरूले खोजिरहेका छन् । भारतीय पाहुना मात्र भित्र्याउन सके पनि धेरै लाभ लिन सकिने व्यवसायीहरूको ठम्याइ छ । तर नेपाल–भारत नाका नखुल्दा भारतीय पर्यटक आउन नपाएकाले व्यवसायीहरूले नाका खुलाउने विषयमा पनि दबाब दिन थालेका छन् । जे होस्, अहिले आन्तरिक पर्यटनमा आएको चहलपहल बढाउन सकिए पनि यो क्षेत्रका लागि ठूलो भरथेग हुन्छ ।

त्यसो त यसअघि पनि बेलाबखत आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै व्यवसायीहरूले आफ्नो व्यवसाय थेगेकै हुन् । विगतमा माओवादी सशस्त्र द्वन्द्वकालमा विदेशी पर्यटक आगमनमा कमी आएपछि पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरू ल्याएका थिए । उतिबेला पनि पोखराका पर्यटन व्यवसायीले यसैगरी ‘जाउँ है पोखरा’ अभियान चलाएका थिए । अहिले फेरि कोरोना महामारीले व्यवसायमा संकट ल्याएपछि पोखराका पर्यटन व्यवसायीहरूले फेरि आन्तरिक पर्यटकको साथ खोजेका छन् । पर्यटन क्षेत्र उकास्न पोखराका पर्यटन व्यवसायीहरूले सुरु गरेका ‘जाउँ है पोखरा’ अभियान अन्य सहरका व्यवसायीहरूका लागि पनि अनुकरणीय हुन सक्छ । यसका साथै सरकारले पनि पर्यटन व्यवसायीहरूको यो अभियानलाई टेवा पुग्ने गरी कार्यक्रमहरू ल्याउन जरुरी छ । त्यसो भयो भने पर्यटन क्षेत्रले केही हदसम्म भए पनि राहत महसुस गर्न सक्छ । त्यसैले पनि पर्यटन क्षेत्र उकास्ने अभियानमा सरकारको ध्यान जाओस् ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *