Home > News & Events > पर्यटनमा कोरोनाका वर्षदिन : थलिएरै बित्यो अवस्था अझै नाजुकः व्यवसायी

पर्यटनमा कोरोनाका वर्षदिन : थलिएरै बित्यो अवस्था अझै नाजुकः व्यवसायी

पर्यटनमा कोरोनाका वर्षदिन : थलिएरै बित्यो

अवस्था अझै नाजुकः व्यवसायी

पोखराको पर्यटन क्षेत्र लेकसाइड । तस्बिरः नागरिक

सन् २०१८ मार्चमा १९ हजार २ सय ६० जना विदेशी पाहुनाको हवाईजहाजबाट पोखरा आउजाउ भएको थियो । त्यो संख्या २०१९ मा घटेर १६ हजार ८ सय ८४ मा ओर्लेको थियो । त्यही आगमन २०२० को मार्चमा झनै कम भएर ५ हजार १२ मा ओर्लेको थियो । २०१८ को तुलनामा २०१९ मा घट्नुमा विशेष कारण थिएन । तर, २०२० मा एकाएक ओरालो लाग्नुमा मुख्य कारण थियो–कोरोना भाईरस महामारीको सन्त्रास  ।

पर्यटन क्षेत्रले कोरोनाको मार खेप्न थालेको वर्षदिन पुगेको छ । पोहोर यतिबेला पर्यटनमा करिब शुन्यता आइसकेको थियो । विदेशी पाहुनाको हिडडुल विश्वव्यापी रुपमा रोकिइसकेको थियो । विश्वव्यापी रुपमा कोरोना त्रास बढ्दै गएको र नेपालमै पनि लकडाउनको तयारी गर्दै सिमा नाका र अन्तर्राष्ट्रिय हवाई उडान बन्दको चर्चाले यतिखेर विदेशी पाहुनाको आगमन ठप्प भईसकेको थियो । पाहुनाको त्यो आगमन चैत ११ गतेदेखिको लकडाउनपछि त शुन्यमै झरेको थियो ।

पर्यटनले कोरोनाको मार खेप्न थालेको वर्षदिन पुगेपनि अझै ब्यूँतिन सकेको छैन । अहिले अन्तर्राष्ट्रिय हवाई उडान खुलेपनि अझै विदेशी पाहुना भित्रिन थालेका छैनन् । सानो आकारको आन्तरिक पाहुनाको भरमा पर्यटन क्षेत्र जेनतेन  खुलेको छ, तर, धानिन नसकेको पर्यटन व्यवसायी बताउँछन् । एकवर्षपछि भाइरस संक्रमण कम भएर नेपालभित्रको आउजाउ केही सहज बनिसकेपनि विदेशी पाहुनाका लागि यहाँसम्मको यात्रा उत्ति सहज नहुँदा पर्यटन क्षेत्र चलायमान बन्न नसकेको पर्यटन व्यवसायी बताउँछन् ।

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा भन्छन्, ‘पर्यटन क्षेत्रले लकडाउन हुँदा सुरुमा एक–दुई महिनाका लागि मात्र अप्ठेरो पर्ने ठानेका थिए । तर, यो अप्ठेरो महिनामा मात्र सिमित नभई वर्षकै लागि रहने निश्चित भयो । किनकी पर्यटनले मात्र खेप्न थालेको वर्षदिन पुग्यो । अझै पहिलेकै अवस्थामा फर्किन सकेको छैन, तत्कालै फर्किने संकेत पनि छैन ।’ उनका अनुसार कोरोनाको त्रासले विदेशी आउन रोकिन थालिसक्दा पनि पोहोर यतिबेला पर्यटन व्यवसायी उत्तिसारो हतासिएका थिएनन्, किनभने किनभने कोरोनाको अप्ठेरो तत्कालै हटिहाल्ने अनुमान थियो । बढीमा एउटा सिजन खेर जाने आँकलन थियो । तर, त्यो हुन सकेन ।

‘हामीले त बढीमा एउटा सिजन मात्र खेर जाला भन्ने अनुमान गरेका थियौं, तर, यतिसारो जटिल अवस्था आयो की पर्यटन व्यवसायी वर्षाैसम्म उठ्नै नसक्ने गरि थलिन पुगे,’ सापकोटाले भने । लकडाउनको बढीमा ३–४ महिनासम्म पर्यटनमा मार पर्ने अनुमान आफुहरुको भएपनि वर्षदिन बितिसक्दा व्यवसायीमा निराशपन देखिन थालेको उनले बताए । ‘सुरुका ३–४ महिना त व्यवसायीले व्यवसाय नै भुले । तर, त्यसपछि पनि सकारात्मक संकेत नपाउँदा राहत खोज्दै सरकार र बैंकका ढोका ढकढकाउन बाध्य भयौं,’ उनले भने, ‘पर्यटनका लागि एकवर्ष थलिएरै बित्यो । अवस्था अझै नाजुक छ ।’

२०२१ को अक्टोबरसम्म अलिअलि विदेशी पाहुना नेपाल भित्रिन सक्ने सापकोटाको आँकलन छ । तर, नर्मल हुन २०२३ लाग्ने सम्भावना रहेको उनले बताए । ‘धेरै मुलुकमा कोरोना विरुद्धको खोप अभियानले आशावादी त बनाएको छ । तर पर्यटनको मुल श्रोत यूरोपियन मुलुकमा अझै लकडाउन भईरहँदा आगामि सिजनसम्म पाहुना आइहाल्छन भनेर यकिनसाथ भन्न सकिन्न,’ उनले भने, ‘हाम्रो अनुमानमा आगामि सिजनसम्म आउन थाल्छन् की भन्ने मात्र हो । तर, निश्चित छैन, आशैआशमा वर्षदिन बित्यो ।’ व्यवसायीको आशा निराशामा परिणत हुँदै जाँदा कतिपयले पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था आएको पनि सापकोटाले बताए ।

विदेशीको आगमन तत्काल हुने संकेत नपाएपछि व्यवसायीले अहिले आन्तरिकलाई खोज्न थालेको उनले बताए । हुन त आन्तरिकको महत्व पर्यटन क्षेत्रले बुझ्न थालेको केहीवर्ष भएपनि अहिलेको अप्ठेरोमा थप भिœयाउने पहल भईरहेको उनले बताए । त्यसबाहेक भारतीयसँग पनि व्यवसायी आशावादी छन् । ‘पहिले आन्तरिक चलायमान बनाउने हो, त्यसपछि भारतीय र चिनियाँ भिœयाउन सक्ने हो सहज हुन्थ्यो,’ उनले भने ।

सापकोटाका अनुसार एकवर्ष बित्दा पनि पोखरामा सबै होटल र रेस्टुरेन्ट पूर्ण रुपमा खुलेका छैनन । जसोतसो खुलाएकाले पनि कमाएका छैनन । होटल नखुलाउँदा झनै बढि नोक्सान खेप्नुपर्ने भएपछि घाटा कम खेप्नका लागि भएपनि खुलाउन बाध्य भएको उनले बताए । ‘चलिरहेको होटलमा ताला लगाएर राख्दा झनै बढी नोक्सान हुन्छ । खोल्दा पनि संचालन खर्च जुटाउन सकिन्न,’ उनले भने ।

पर्यटन बोर्ड पोखराका प्रमुख काशिराज भण्डारी कोरोनाको एकवर्षमध्ये सुरुका केही महिना अप्ठेरो रहेपनि कात्तिक पछि ‘रिभाइभ’ को बाटो पर्यटनले समातेको बताउँछन् । ‘अन्तर्राष्ट्रिय पर्यटक नै नभएपछि पर्यटन क्षेत्र निकै नै कमजोर त देखिएको छ, तर आन्तरिकका कारण रिकभर पनि हुँदैछ,’ भण्डारीले भने, ‘विदेशी पाहुना नआएसम्म अपुरो भने रहिरहन्छ ।’ पर्यटनमा ठुलो लगानी भएकोले विदेशी पाहुना नभई नहुने उनले बताए । ‘सबै होटल चल्न त विदेशी आउनैपर्छ, आन्तरिक पर्यटनले केही साथ मात्र दिएको हो,’ उनले भने, ‘शुन्यमा ओर्लेको पर्यटन क्षेत्रलाई माथि उठाउन आन्तरिकले सघाएको छ । तर, कमाउनका लागि विदेशी नभई हुँदैन ।’

पर्यटनमा एकवर्षको घाटा पूर्ति गर्न अब भारतीय पाहुनालाई भिœयाउन ढिलाई गर्न नहुने उनले बताए । ‘एकैपटक यूरोप अमेरिकामा प्रवद्र्धन गर्नुभन्दा भारतबाट ल्याउन थाल्नुपर्छ । भारतीयलाई लक्षित गर्दै जाने हो भने पर्यटनलाई लयमा फर्काउन सहज हुन्छ,’ उनले भने, ‘एकवर्षसम्म घुम्न नपाएर पर्यटक गुम्सिएर बसेका छन् । अब बोर्डरलाई केही सहज बनाएर भारतीय भिœयाउन पहल गर्नुको विकल्प छैन ।’

एकवर्षको अवधिमा केही पर्यटन व्यवसायी पलायन भएपनि अझै आशावादी भने रहेको उनले बताए । आगामि सेप्टेम्बरसम्म पर्यटनले केही गति लिइसक्ने उनको अनुमान छ । ‘तर, त्यो भन्दा अगाडि नै पनि पर्यटन लयमा आउन सक्छ,’ उनले भने, ‘भारतीय र चिनियाँ पाहुना भिœयाउन थाल्यौ भने सहज हुन्छ । सेप्टेम्बर नै कुनुपर्छ भन्ने लाग्दैन ।’

पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई जेनतेन आन्तरिक पाहुनाको भरमा पर्यटन चलेको बताउँछन् । तर पर्यटन धानिएको नै भन्न नमिल्ने उनले बताए । ‘अहिले पोखराका होटलको अकुपेन्सी बढिमा १० प्रतिशत छ, त्यो सबै आन्तरिकको भरमा हो,’ उनले भने, ‘कठिन अवस्थामा आन्तरिक पर्यटकको साथ मिल्नु त सकारात्मक नै हो, तर, टिकाउ हुन विदेशी पाहुना नभई हुँदैन ।’

उनले पनि एकवर्षको अवधिमा कतिपय व्यवसायीले व्यवसायको घाटा बेहोर्न छाडेर घर फर्किएको बताए । ‘बैंकको ऋण तिर्नै नसक्ने अवस्था आएपछि केही व्यवसायी पलायन पनि भए । विदेशी पाहुना मात्र निर्भर व्यवसायी बढि पलायन भए,’ भट्टराईले भने, ‘अब छिमेकी देशका नाका खुलाएर सावधानी अपनाएर चीन र भारतका पाहुनालाई घुम्न बोलाउनुपर्छ । भारत र चीन हाम्रा पाहुना भित्रिने ठुला श्रोत हुन् । नेपाल घुमघाम सहज छ भनेर प्रचारप्रसार गर्नुपर्छ ।’

भारतीय पाहुना अहिले फाट्टफुट्ट आउन थालेपनि अब उनीहरुलाई सहजै भित्रिने माहोल बनाइदिनुपर्ने उनको भनाई छ । भट्टराइले एकवर्ष अवधिमा पर्यटकीय गतिविधि चलायमान बनाउने काममा राज्यबाट सहयोग हुन नसकेको र व्यवसायीले पनि ध्यान दिन नसकेको बताए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *