पोखराका पर्यटनकर्मीलाई डिजिटल मार्केटिङ तालिम
पोखरा । पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनका लागि पोखरा पर्यटन परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुलाई डिजिटल मार्केटिङ एन्ड सोसल मिडिया तालिम प्रदान गरेको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न तालिममा बोर्डका प्रमुख काशिराज भण्डारीले पर्यटन क्षेत्रमा डिजिटल मार्केटिङबाट विश्वलाई जोडेर पर्यटन प्रर्वद्धन गर्न सकिने बताए ।
पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिशाली माध्यम बन्दै गएको जनाउँदै यसको सही सदुपयोग गरेर फाइदा लिनुपर्नेमा उनले जोड दिए । प्रतिष्पर्धाको बजारमा डिजिटल मार्केटिङमा पछाडि परे व्यवसाय पनि पछाडि पर्ने जनाउँदै भण्डारीले प्रविधि मैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिन व्यवसायीलाई आग्रह गरे ।
प्रविधिले आमन सामने भएर गरिने कति कामलाई कम गराउँदै छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पुर्याउने उनले बताए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले सहभागीको उल्लेख्य सहभागिताले व्यवसायप्रति व्यवसायी चिन्तित देखिएको बताए । उनले पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नविनतम् सोचको खाँचो समेत औल्याए ।
परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय सेवा प्रदान गर्नका लागि तालिम सञ्चालन गरेको बताए । उनले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालिमले सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
सहभागीको तर्फबाट तालिमको अनुभव राख्दै कमला गिरीले विश्वको जुनसुकै स्थान बसेर पनि डिजिटिल मार्केटिङबाट व्यवसाय प्रवद्र्धनका लागि सैद्धान्तिक व्यहारिक ज्ञान हासिल गर्न सफल भएको बताइन् ।
तालिमका प्रशिक्षक पारस देवकोटा सहभागीहरुले डिजिटल र सोसल मिडियाको बारेमा विभिन्न जिज्ञासा सहित सहभागीता जनाएको बताए । उनले फेसबुक र गुगलबाट व्यवसायको प्रवद्र्धनका लागि सहभागीले बढी रुची देखाएको भनाइ राखे ।
सोसल साइटमा अनुत्पादक समय खर्च गर्नुभन्दा रचनात्मक रुपबाट समय दिन सके व्यावसायिक लाभ लिन सकिने बताए ।
देवकोटासँगै सो तालिममा उज्ज्वल पौडेल, सुमिरन केसी, प्रतीकमणि पौडेलले समाजिक सञ्जाल र डिजिल मार्केटिङ सम्बन्धि विविध विषयको सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिएका थिए ।
संस्थाका महासचिव रामचन्द्र शर्माले परिषदसँग आवद्ध १२ संस्था करिब एक सय जना पर्यटन व्यवसायीहरुको तालिममा सहभागिता रहेको जानकारी दिए ।