Home > News & Events > मुस्ताङको गुनासोः खानाको पैसा तिर्छाैं, सित्तैमा कोठा देउ भन्ने विदेशीबाट पर्यटन प्रवर्द्धन हुँदैन

मुस्ताङको गुनासोः खानाको पैसा तिर्छाैं, सित्तैमा कोठा देउ भन्ने विदेशीबाट पर्यटन प्रवर्द्धन हुँदैन

मुस्ताङको गुनासोः खानाको पैसा तिर्छाैं, सित्तैमा कोठा देउ भन्ने विदेशीबाट पर्यटन प्रवर्द्धन हुँदैन

अपर मुस्ताङका सम्पदा।

हिमालपारिको जिल्ला मुस्ताङमा पर्याप्त विदेशी पर्यटक जान्छन। कोरोना भाइरस संक्रमण अघि मुस्ताङ पुग्ने विदेशी हजारौंको संख्यामा हुन्थे। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने मुस्ताङमा अन्नपूर्ण फेरोको पदयात्रा पुरा गरेर जाने पर्यटक पनि उत्तिकै हुन्छन। त्यसबाहेक मुस्ताङको माथिल्लो क्षेत्रमा अतिरिक्त शुल्क तिरेर जाने विदेशीको संख्या पनि धेरै नै हुन्छ।

तर, पछिल्लो समय मुस्ताङले पर्यटकलाई टिकाउन सकेको छैन। मुस्ताङ उक्लेका पर्यटकको बसाई अवधि निकै नै कम हुने गरेको छ। अझ मुक्तिनाथ दर्शन गर्न पुगेका धार्मिक पर्यटकको बसाई त झनै कम हुने गरेको छ  माथिल्लो क्षेत्रमा पुगेका बाहेक धार्मिक पर्यटकको बसाई अवधि मुस्ताङमा बढीमा एकरात मात्र हुने गरेको त्यहाँका स्थानीयको भनाई छ।

पोखराबाट जसोतसो पर्यटक गएपनि उनीहरुको बसाई अवधि निकै नै कम हुने गरेको उनीहरुको भनाई छ। त्यसो हुनुमा पोखरेली व्यवसायी र सडक यातायात मुख्य कारक रहेको उनीहरुले बताए। कोरोना संक्रमण सुरु भएपछि पर्यटन क्षेत्र केही सुनसान बनेको भएपनि जसोतसो उक्लेका पर्यटकको बसाई अवधि पनि न्यून हुनुमा पोखरेली व्यवसायीको कमजोर प्याकेज मुख्य कारक रहेको उनीहरुले बताए। पोखराका पर्यटन व्यवसायीले मुस्ताङ उक्लेका पर्यटकलाई घुमघाममा लैजाने र बसाई अवधि बढाउने गरि प्याकेज नबनाउँदा समस्या परेको उनीहरुले बताए।

पोखरा पर्यटन परिषद् (पिटिसी)ले आयोजना गरेको छलफलमा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भने, ‘पोखराका पर्यटन व्यवसायीले नै एकरातको प्याकेज बनाएपछि पर्यटक नै मुस्ताङमा अडिएनन। एकरातका लागि मात्र पुगेका पर्यटकबाट लाभ पाउन सकिन्न।’ मुक्तिनाथ दर्शन गर्न पुगेका भारतीय पर्यटकबाट त झनै लाभ पाउन नसकिएको उनले बताए।

‘पोखराबाट एकैदिनमा जोमसोम पुगिन्छ। भोलिपल्ट बिहान मुक्तिनाथ दर्शन गरेर बास बस्न पोखरा फर्किन्छन, त्यो तरिकाले पर्यटनबाट लाभ मिल्दैन,’ उनले भने, ‘एकरात बास बसेका पर्यटकबाट के लाभ पाउने भन्ने हो। अधिकांश भारतीय पर्यटक धार्मिक हुने र उनीहरुको जोमसोम बसाई बढीमा एकरात मात्र हुन्छ।’

भारतीय बाहेक अन्य पर्यटकको बसाई अवधि पनि निकै नै घटेको उनले बताए। गाडीमा गएका पर्यटकलाई पर्याप्त घुम्ने गरि प्याकेज नबनाउने हो भने उनीहरुको बसाई अवधि कम हुने लालचनले बताए। ‘एकदिनमा घुमेर सकिन्छ भनेर छोटो र सस्तो प्याकेज नबनाईदिनुस, पोखराले पर्यटनको बसाई अवधि बढाउन उपयुक्त भूमिका निभाउनुपर्छ,’ उनले भने, ‘नयाँ ठाउँ र गन्तव्यलाई पनि प्याकेजमा जोडिदिनुस। एकदिनमा घुमेर सकिने गरि प्याकेज बनाउँदा पर्यटकको बसाई अवधि कम भएको छ।’

थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले पर्यटक रातारात फर्किने गरेको बताए। त्यस्ता पर्यटनबाट पोखराले लाभ नपाएको र मुस्ताङले पनि पाउन नसकेको उनको भनाई छ। ‘पर्यटक रातारात फर्किन्छन। कतिपयले एकरात पनि बिताउँदैनन, त्यस्तो पर्यटनबाट लाभ पाउन सकिन्न,’ गौचनले भने, ‘एकदिनमा मुस्ताङ घुमेर फर्किन सकिन्छ भनेर सस्तो प्याकेज बनाउँदा लाभ नभई नोक्सान मात्र भएको छ। रातारात आउजाउ गर्ने पर्यटकबाट लाभ पाउन सकिन्न।’ मुस्ताङमा पर्याप्त मात्रामा प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा भएपनि ती सम्पदासम्म पाहुना पुर्‍याउन नसकिएको उनले बताए। कुनैबेलाको पदमार्गमा अहिले मोटर गुड्दा पनि पर्यटन क्षेत्रले मार खेपेको उनको भनाई छ।

वारागुँ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले मुस्ताङको पर्यटन क्षेत्र यतिसम्म खस्कियो की खानाको पैसा तिरेको आधारमा होटलमा कोठा सित्तैमा माग्न थालेको बताउँछन। ‘कतिपय मूलूकका पर्यटक होटलमा खानाको पैसा तिर्ने तर, कोठा सित्तैमा देउ भन्छन, त्यो अवस्थाले पर्यटन प्रवद्र्धन हुन सक्दैन,’ उनले भने, ‘ती सस्ता र सित्तैमा खोज्ने पर्यटकबाट मुस्ताङले लाभ लिन सक्दैन। यसलाई गुणस्तरीय पर्यटन भन्न सकिन्न।’

कतिपय पर्यटक सित्तैमा कोठा खोज्ने र केही फोहर गर्न मात्र उक्लिने अवस्था  रहेको उनले बताए। ‘बरु आन्तरिक पर्यटनबाट लाभ पाउन सकिन्छ। विदेशी भन्दैमा सित्तैमा खोज्ने पर्यटनले लाभ दिँदैन,’ उनले भने, ‘कम्तिमा आन्तरिक पर्यटकले कोठा र खानाको शुल्कमा ‘वार्गेनिङ’ त गर्दैनन।’

उपल्लो मुस्ताङ क्षेत्र घुम्नका लागि विदेशी पाहुनाले एकसाताको लागि ५ सय अमेरिकी डलर अतिरिक्त शुल्क तिर्नुपर्छ। अर्धनिषेधित क्षेत्र मानिने माथिल्लो क्षेत्रमा विदेशी पर्यटकले यो अतिरिक्त शुल्क तिर्नुपर्छ। कोरोना संक्रमण सुरु हुनुपूर्व माथिल्लो क्षेत्रमा मात्र वर्षमा करिब ५ हजार विदेशी पर्यटक उक्लिन्थे। ती विदेशीबाट राज्यले वर्षमा करिब ५० करोड रुपैयाँ आम्दानी गरेको भएपनि त्यो रकम स्थानीय क्षेत्रको विकासका लागि खर्च नभएको उनीहरुको गुनासो छ।

मुस्ताङका स्थानीय तहका पदाधिकारी र पोखराका पर्यटन व्यवसायीसँगको छलफलमा सहभागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले वास्तवमा मुस्ताङ सबै हिसाबले पछाडि परेको बताए। केहीदिन अघि मात्र मुस्ताङ उक्लेर फर्केका मुख्यमन्त्री पोखरेलले माथिल्लो क्षेत्र घुमेपछि मात्र वास्तविक मुस्ताङ देख्न पाएको बताए। ‘मुक्तिनाथ घुमेर फर्किदैमा मुस्ताङ घुमेको बुझाउने गरेको थियो। तर, त्यो रहेनछ, जब माथिल्लो क्षेत्र घुम्न पुगिन्छ, तब मात्र मुस्ताङ घुमेको पुष्टि हुन्छ,’ पोखरेलले भने, ‘वास्तविक मुस्ताङ घुम्न माथिल्लो क्षेत्र जानुपर्छ।’ उनले बेनी–जोमसोम–कोरोना सडकलाई जतिसक्दो छिटो सम्पन्न गराउनका लागि प्रदेश सरकार लागिपरेको पनि बताए।

परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले मुस्ताङको पर्यटन विकासमा सधै सहकार्य गर्न पोखरा तयार रहेको बताए। उनले पोखरा र मुस्ताङ मिलेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए। ‘हामी पनि पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न तयार छौ। कतिपय काम भएका पनि छन, आगामि दिनमा पनि सहकार्य गर्न तयार छौं,’ उनले भने।

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोला नाका खोल्न सके त्यसको लाभ पर्यटन प्रवद्र्धनमा हुने बताए। त्यसबाहेक मुुक्तिनाथसम्म मात्र अहिलेसम्म पर्यटक पुग्ने गरेकोमा अब अर्काे गन्तव्य दामोदरकुण्डको प्रवद्र्धन जरुरी रहेको उनले बताए। अहिलेसम्म हेलिकप्टरबाट मात्र दामोदरकुण्ड जाने गरिएकोमा अब त्यो ठाउँमा पदयात्रा गरेरै जान सकिने गरि प्रवद्र्धन गर्न जरुरी रहेको श्रेष्ठको भनाई छ। ‘दामोदरकुण्ड प्रवद्र्धन गर्न सकेमा धार्मिक पर्यटनमा अझ वृद्धि हुन्छ,’ उनले भने।

अध्यक्ष श्रेष्ठले व्यवसायीसँग मिलेर अहिलेको सस्तो र छोटो अवधिको प्याकेजलाई अब सुधार्ने पनि बताए। ‘सस्तोभन्दा पनि बसाई अवधि बढाउने गरि लम्ब्याउने योजना छ। बसाई अवधि कम हूँदा पोखरा र मुस्ताङले नै नोक्सान खेपेको छ,’ उनले भने, ‘सधैं सस्तो र छोटो प्याकेजले हुँदैन।’ त्यस्तै कोरोला नाका खोल्न दवाव दिने र त्यो नाका खोल्न सके मानसरोवर यात्रा सहज हुने उनले बताए। ‘मुस्ताङ हुँदै पर्यटकलाई मानसरोवरसम्म पुर्‍याउन सके धार्मिक पर्यटनबाट लाभ पाउन सकिन्छ,’ उनले भने।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *