Home > News & Events > विश्व पर्यटन दिवसः पर्यटकलाई बसपार्क र विमानस्थलमै स्वागत

विश्व पर्यटन दिवसः पर्यटकलाई बसपार्क र विमानस्थलमै स्वागत

विश्व पर्यटन दिवसः पर्यटकलाई बसपार्क र विमानस्थलमै स्वागत

पोखरा विमानस्थलमा पहिलो उडानमार्फत आएका विदेशी पाहुनालाई स्वागत गर्दै पर्यटन व्यवसायी। तस्बिरः नागरिक

४३ औं विश्व पर्यटन दिवसको अवसर पारेर मंगलबार पोखरा भित्रिने विदेशी पर्यटकलाई विमानस्थल र पर्यटक बसपार्कमा स्वागत गरिएको छ। पहिलो उडानमार्फत पोखरा विमानस्थलमा ओर्लेका पर्यटकलाई विमानस्थलमा र स्थलमार्गबाट भित्रिएका पाहुनालाई पर्यटक बसपार्कमा स्वागत गरिएको हो।

पोखरा पर्यटन परिषद् (पिटिसी)ले हरेक वर्ष विश्व पर्यटन दिवसको अवसरमा पोखरा भित्रिने पर्यटकलाई विमानस्थल र बसपार्कमा स्वागत गर्दै आएको छ। परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले यो पटक पनि त्यही निरन्तरता अनुसार पर्यटकलाई स्वागत गरेको जानकारी दिए । परिषद्को कार्यक्रममा पर्यटन बोर्ड र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको पनि सहयोग रहेको उनले बताए।

उनका अनुसार हवाई र स्थलमार्गबाट भित्रिएर पहिलो स्वागत थाप्ने विदेशी पाहुनालाई पोखराको आकाशमा निशुल्क प्याराग्लाईडिङ गराउने र पोखरा क्षेत्रको दृष्यावलोकन गराउने गरि टुर प्याकेज प्रदान गरिएको थियो। त्यस्तै दोश्रो र तेश्रो नम्बरमा स्वागत थापेका पर्यटकलाई पोखराका रेस्टुरेन्टमा डिनर खुवाउने प्याकेज प्रदान गरेको अध्यक्ष श्रेष्ठले बताए।

पोखरा विमानस्थलमा पहिलो स्वागत थाप्ने पाहुना काठमाडौंबाट हवाई जहाज चढेर पोखरा ओर्लेका थिए। एकै समयमा दुइवटा उडानका करिब एक सय ५० जना विदेशी पाहुनालाई विमानस्थलमा स्वागत गरेको अध्यक्ष श्रेष्ठले बताए। पञ्चेबाजा बजाएर फूलमाला सहित पर्यटकलाई स्वागत गरिएको थियो।

उनका अनुसार स्थलमार्गबाट भित्रिएका पाहुनालाई पनि बसपार्कमा फूलमाला लगाएर पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो। बसपार्क र विमानस्थलमा पाहुनाको स्वागतार्थ प्रदेश सरकारका मन्त्री, पर्यटन बोर्ड पोखराका निर्देशक सहित पर्यटन व्यवसायी सहभागि थिए। पञ्चेबाजाका साथ एकाएक स्वागत थाप्न पाउँदा पर्यटक पनि दंग परेका थिए।

‘हामीले हरेक वर्ष पर्यटकलाई स्वागत गर्दै आएका छौ। पर्यटकले नौलौ तरिकाबाट आफुलाई स्वागत गरेको भन्दै त्यो बेला खुसी भएका थिए,’ परिषद् महासचिव सञ्जयकान्त सिग्देलले भने, ‘पर्यटकले नौलो रुपमा आफुलाई स्वागत गरेको भन्दै त्यो बेला खुसी भए। यो स्वागतले पोखराको पर्यटनको नौलो शैलीको समेत प्रचार भएको छ। यसले पनि पर्यटनमा सकारात्मक सन्देश प्रवाह गरेको छ।’

विश्व पर्यटन दिवस पारेर पोखरा नजिकै हाइकिङ गएका पर्यटन व्यवसायी। तस्बिरः नागरिक

विश्वभर मंगलबार पर्यटन दिवस मनाइर्एको छ। हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ। यो वर्ष ‘रिथिङकिङ टुरिजम’ नाराका साथ मंगलबार दिवस मनाइएको छ। यो अवसरमा पर्यटनसँग सम्बन्धित निकायले विभिन्न कार्यक्रम गरेका थिए। पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले एकदिने हाइकिङ कार्यक्रम आयोजना गरेको थियो।

पोखरा महानगरपालिका–१३ काँहुखोलाबाट हाइकिङ सुरु गरेर भञ्ज्याङ, चिप्लेटी, महाप्रभूधान, मणिदीप, कसेरी हुदै पोखरा झरेर एकदिने हाइकिङ पुरा गरेको टानका अध्यक्ष सुशीलराज पौडेलले बताए। पोखरा–१३, गैरआवासीय नेपाली संघ (एनआरएन), टान सहितका विभिन्न निकायका प्रतिनिधि सहित पदयात्रा व्यवसायी हाइकिङमा सहभागि थिए।

‘हामीले हाइकिङ गरेको रुटमा पनि पर्यटक पठाउन सकिन्छ। पोखराबाट एकदिनमा पुरा गर्न सकिने यो रुट पनि बिस्तार गर्नुपर्छ। यो रुटमा पनि पर्यटक लैजान सकिन्छ भनेर बुझ्ने प्रयास गरेका हौ,’ उनले भने। दीर्घकालिन र समुदाय लक्षित पर्यटनका गतिविधि गर्नुपर्छ भनेर अब व्यवसायीले सोच्ने बेला भएको उनले बताए। ‘अब पर्यटन परम्परागत ढर्राबाट मात्र चल्दैन, केही नयाँ गर्नैपर्छ, जसले पर्यटनलाई दीर्घकालिन बनाउन सकोस’ उनले भने, ‘कोरोना संक्रमणपछिको यो अवस्थामा पर्यटन क्षेत्रलाई अब फरक ढंगले हेर्ने बेला भएको छ।’

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *