Home > News & Events > अल्ट्रा म्याराथन धावक मीरा राई पर्वतीय संग्रहालयकी सद्‍भावना दूत

अल्ट्रा म्याराथन धावक मीरा राई पर्वतीय संग्रहालयकी सद्‍भावना दूत

पब्लिक समाचार

५ दिन अगाडि / ९६  पटक हेरिएको

16Shares
facebook sharing button
sharethis sharing button

पोखरा, माघ २४ । अल्ट्रा म्याराथन धावक मीरा राई पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको सद्भावना दूत घोषित भएकी छन् । संग्रहालयको १८ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार नेपाल पर्वतारोहण संघले उनलाई एक वर्षका लागि सद्भावना दूत घोषणा गरेको हो ।

संघ मातहतमा रहेको संग्रहालय नेपालकै एकमात्र पर्वतीय संग्रहालय हो । वार्षिकोत्सव समारोहमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले उनलाई सम्मानपत्रले सम्मान गरे । मीरालाई संघका अध्यक्ष सन्तवीर लामाले सद्भावना दूतमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे । संघले उनलाई एक वर्षका लागि ५० हजार रुपैयाँ प्रदान गरेको छ । त्यबापत् मीराले संग्रहालयको प्रचारप्रसारमा सघाउनुपर्ने छ ।

तत्कालीन् सेना समायोजनमा माओवादी छापामारको रुपमा ‘अयोग्य’ ठहरिएपछि उनको जीवन खेलतर्फ मोडिएको थियो । उनले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धारित ८० किलोमिटरको दूरी १२ घण्टा ३२ मिनेटमा पुरा गर्दै उपाधि जितेकी थिइन् । उनले हङकङ, इटाली, नर्वे लगायत देशमा भएका अल्ट्रा म्याराथनमा च्याम्पियन भइसकेकी छन्

कार्यक्रममा उनले सद्भावना दूत बन्न पाउँदा खुसी व्यक्त गरिन् । ‘एउटा नयाँ जिम्मेवारी थपिएको छ,’ उनले भनिन्, ‘भ्याएसम्म आफ्नो भूमिका निर्वाह गर्छु ।’ सन् २०१७ मा उनले नेसनल ज्योग्राफिकको ‘साहसिक वर्ष व्यक्ति’को उपाधि जितेकी थिइन् । सर्वाधिक साहसीको सूचीमा परेर उपाधि जित्ने पहिलो नेपाली हुन् । ट्रेल रनर मीराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेकी छन् । हिमाली दौडमा विश्वमै चर्चित उनले २०७० को चैतमा अल्ट्रा रेसमा प्रवेश गरेकी थिइन् ।

संघका अध्यक्ष लामाले दौडेरै नेपालको नाम राख्न सफल राईप्रति संघले सम्मान स्वरुप सद्भावना दूत घोषणा गरेको बताए । संघले यसअघि कीर्तिमानी आरोही निर्मल पूर्जालाई संघको सद्भावना दूत घोषणा गरेको थियो । उक्त अवसरमा ६०१२ मिटर उचाइको धम्पुस पिक आरोहण गर्ने ६ आरोहीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजनामा पुस २७ देखि माघ ५ सम्म प्रवद्र्धनात्मक धम्पुस पिक आरोहण तथा पर्वतारोहण तालिम भएको थियो । माघ ३ मा सुदिप गौतम, दीपेशबाबु सुवेदी, टासी पासाङ गुरुङ, हीराकुमारी मल्ल, मनु गुरुङ र सनकुमार जुगजालीले हिमाल आरोहण गरेका थिए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *