Home > News & Events > पोखराका व्यवसायीको गुनासोः सरसापट गरेर पनि किस्ता तिर्न सक्ने अवस्था रहेन

पोखराका व्यवसायीको गुनासोः सरसापट गरेर पनि किस्ता तिर्न सक्ने अवस्था रहेन

पोखराका व्यवसायीको गुनासोः सरसापट गरेर पनि किस्ता तिर्न सक्ने अवस्था रहेन

पर्यटकीय सहर पोखरा। फाइल तस्बिर

कोरोना भाइरस संक्रमणबाट थलिएको पर्यटन क्षेत्रमाथि उठ्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने कर्जाको साँवा र ब्याज तिर्न सक्ने अवस्था नरहेको व्यवसायीले बताएका छन्।

व्यवसायीको आर्थिक अवस्था कमजोर रहेको भन्दै साँवा र ब्याज असुलिका लागि ताकेता नगरिदिन व्यवसायीले वित्तीय संस्थालाई अनुरोध समेत गरेका छन्। ‘पर्यटन क्षेत्र निकै नै सकसका साथ चलेको छ। कोरोना भाइरस संक्रमणका कारण व्यवसायी नोक्सानमा छन्,’ होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘यो बेला साथीभाईसँग सापटी लिएर काम चलाउन पनि सक्ने अवस्था रहेन। दिनदिनै वित्तीय संस्थाबाट फोन आएको छ। यसले व्यवसायीलाई तनाव थपिदिएको छ।’

दिनदिनै वित्तीय संस्थाबाट फोन आउन थालेपछि ताकेता नगरिदिन अनुरोध गरेको उनले बताए। कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायी अहिले साँवा तथा ब्याज चुक्ता गर्न सक्ने अवस्थामा नरहेको उनले बताए।

‘होटल क्षेत्रले चुक्ता गर्नुपर्ने सबै प्रकारका कर्जा तथा ब्याज तिर्न व्यवसायी तयार छन्। तर त्यस्तो दायित्वलाई आउँदो वर्षमा मिलान गर्ने व्यवस्थाका लागि हामी नेपाल राष्ट्र बैंक, सम्बन्धित मन्त्रालय र सरकारसँग आग्रह गर्न चाहन्छौं,’ संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘त्यसकारण साँवा तथा ब्याज असुलीका लागि बैंक तथा वित्तीय संस्थाकातर्फबाट व्यवसायीलाई पटक पटक ताकेता नगरिदिनुहुन हामीले अनुरोध गरेका छौं।’

कोभिडले गर्दा पर्यटन क्षेत्र सबैभन्दा सुरुमै प्रभावित भएको र त्यो प्रभाव लामो समय रहिरहेको व्यवसायीको गुनासो छ। अरु सबै व्यवसायिक क्षेत्र पूर्ववत अवस्थामा फर्केको भएपनि पर्यटन क्षेत्र भने अझै पनि समस्याग्रस्त अवस्थामा रहेको अध्यक्ष सुवेदीले बताए।

‘अहिलेका लागि हामी किस्ता तिर्न सक्ने अवस्थामा पनि छैनौ। सरसापट पनि चलाउन सक्ने अवस्था रहेन,’ उनले भने, ‘किस्ता तिर्न सक्ने उपाय नभएपछि वित्तीय संस्था गुहारेका हौँ। सरकारले यो बारेमा पक्कै पनि बुझनेछ।’ वित्तीय संस्थाले दिनहुँ फोन गरेर किस्ता तिर्न भनिरहेपनि व्यवसायी त्यो अवस्थामा नरहेको उनले बताए।

पर्यटन व्यवसाय यो आधारमा आर्थिक रुपमा कमजोर हुनुमा पर्यटन क्षेत्र लामो समय कोरोना संक्रमणको मारमा पर्नु मुख्य कारण रहेको उनले बताए। ‘यतिबेला केहीदिनका लागि पोखरामा चहलपहल छ। राष्ट्रिय खेलकुद, केही आन्तरिक पर्यटक र सभा सम्मेलनले गर्दा पाहुनाको थोरै चलायमान देखिएपनि अरुबेला पर्यटन क्षेत्र सुनसान छ,’ सुवेदीले भने, ‘वास्तवमा भन्ने हो भने दैनिक खर्च चलाउन पनि हम्मेहम्मे छ। कोरोनाले गर्दा सबैभन्दा पहिले, सबैभन्दा बढी र लामो समयसम्म पनि पर्यटन क्षेत्र प्रभावित भएको छ।’

वर्षभरिमा १० दिन पाहुना भए भनेर पर्यटन क्षेत्र धानिन सक्ने अवस्था नरहेको उनले बताए। ‘हामीले ऋण तिर्ने हो। तर, अहिलेका लागि सक्दैनौ मात्र भनेका हौ। समयावधि बढाइदियो भने सहज हुन्छ भन्ने हो। कोभिडले गर्दा पर्यटन क्षेत्रलाई नै सबैभन्दा पहिला, बढी र लामो समयसम्म असर पारेकोले सकस भएको हो,’ उनले भने, ‘कम्तिमा वित्तीय संस्थाबाट ताकेता नहुने हो भने पनि व्यवसायी ढुक्कले बस्नेछन्।’

संघले विज्ञप्ति प्रकाशित गर्दै कोरोना महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित हुन पुगेको साथै महामारीकै कारण पर्यटन क्षेत्रबाट हजारौं जनशक्ति र व्यवसायी पलायन हुन पुगेको पनि उल्लेख छ। कतिपय पर्यटकीय प्रतिष्ठान बन्द समेत हुन पुगेको विज्ञप्तिमा उल्लेख छ।

‘व्यवसायलाई टिकाइरहन र पर्यटन क्षेत्र संघर्षरत रहेको छ। यो बीचमा पर्यटन क्षेत्र उकास्न ‘जाउँ है पोखरा’, फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव लगायत विविध प्रवर्द्धनात्मक गतिविधि गरेपनि अझै उकासिन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ। नोक्सानमा रहेको पर्यटन क्षेत्रलाई बचाउनका लागि व्यवसायीले सरकारलाई समेत गुहारेका छन्।

त्यसका लागि सरकारका तर्फबाट यसअघि घोषणा गरिएका राहतका कार्यक्रममा समेत चालू बजेटमा कटौति गरिएको व्यवसायीको गुनासो छ। कतिपय राहतका कार्यक्रम घोषणामा मात्र सीमित हुन पुगेको पनि व्यवसायीले बताएका छन्।

‘पर्यटन क्षेत्र जटिल अवस्थाबाट गुज्रँदै गर्दा समेत लगानीको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि सरकारी क्षेत्रबाट कुनै ठोस कदम अगाडि नबढाइएको महसुस हामीले गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ। जटिल अवस्थाबाट पर्यटन क्षेत्र गुज्रदै गर्दा होटल क्षेत्रको कर्जा र ब्याज असुलीमा बैंक तथा वित्तीय संस्थाहरुले कडाइ गर्दा व्यवसायी झनै प्रताडित हुन पुगेको संघको विज्ञप्तिमा उल्लेख छ।

‘व्यवसायीले चुक्ता गर्नुपर्ने सबै प्रकारका कर्जा तथा ब्याज तिर्न व्यवसायी तयार छन्। तर त्यस्तो दायित्वलाई आउँदो वर्षमा मिलान गर्ने व्यवस्थाका लागि हाम्रो अनुरोध हो,’ संघले भनेको छ। यसैगरी पोखराका उद्योगी–व्यवसायीले पनि बैंकले कर्जामा बढाएको ब्याजदरको चर्को विरोध गरेका छन्।

उनीहरुले ब्याजदर नघटाए असोज मसान्तमा तिर्नुपर्ने कर्जाको किस्ता र ब्याज नबुझाउने चेतावनी दिएका छन्। पोखरा र लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ गण्डकी प्रदेश, पोखरा पर्यटन परिषदसहित १३ वटा व्यावसायिक संघ-संस्थाले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाउँदै असोज मसान्तमा तिर्नुपर्ने किस्ता र ब्याज नबुझाउने घोषणा गरेका हुन्।

ध्यानाकर्षणपत्रमा बैंक तथा वित्तीय संस्थाले निक्षेपसँगै कर्जामा ब्याजदर वृद्धि गर्दा समग्र अर्थतन्त्र धराशायी हुने अवस्था निम्तेको उल्लेख छ। ‘बैंक तथा वित्तीय संस्थाबाट पटक–पटक गरिने ब्याजदर वृद्धि तथा असहज अवस्थामा किस्ता भुक्तानीको ताकेताले निजी क्षेत्र पीडित बनेको छ,’ पत्रमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले अगाडि बढाएका धितो लिलामीका प्रक्रिया पनि तत्काल रोकिनुपर्छ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *