चर्काे व्याजदर विरुद्ध पोखराका व्यवसायी सडकमा व्यवसायी भन्छन्ः उद्योग व्यापार नबाचे अर्थतन्त्र बाच्दैन

चर्काे व्याजदर विरुद्ध पोखराका व्यवसायी सडकमा

व्यवसायी भन्छन्ः उद्योग व्यापार नबाचे अर्थतन्त्र बाच्दैन

बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर विरुद्ध उत्रिएका पोखराका व्यवसायी। तस्बिरः नागरिक

बैंक तथा वित्तीय संस्थाले अचाक्लि रुपमा ब्याजदर वृद्धि गर्दा व्यवसायिक क्षेत्र चर्काे मारमा परेको भन्दै पोखराका व्यवसायी पनि आन्दोलनमा उत्रेका छन्। वित्तीय संस्थाको दवावले लगानीकर्ता हच्किन पुगेको व्यवसायीको भनाई छ।

नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आव्हानमा भएको आन्दोलनमा प्रदेशका सबैजसो क्षेत्रका व्यवसायी सहभागि थिए। व्यवसायीले बैंक तथा वित्तीय संस्थाको चर्काे सेवामा सुधार नआए थप आन्दोलनमा उत्रने पनि चेतावनि दिएका छन्। सबैभन्दा बढी मार ब्याजदरमा चर्काे वृद्धिले पारेको उनीहरुले बताए। व्यवसायीले पहिलो चरणमा सामान्य आन्दोलन थालेको भएपनि अहिलेको संकट समाधान नभए थप आन्दोलन गर्ने पनि बताएका छन्।

व्यवसायीले अहिले बढाएको ब्याजदर तिर्न सक्ने अवस्था नरहेको बताएका छन्। आन्दोलनका क्रममा व्यवसायीले चालु पुँजी निर्देशिका खारेज गर, ब्याजदर चर्काे भो, गरिखान गाह्रो भो, बैंक तथा वित्तीय संस्थाको उच्च सेवाशुल्क खारेज गर, ब्याजमा थप्ने मनपरि प्रिमियम बन्द गर, बैंकिङ आतंक बन्द गर, उद्योग व्यापार नबाचे अर्थतन्त्र बाच्दैन, लगायतका नारा उल्लेखित प्लेकार्ड बोकेका थिए। महासंघको आव्हानमा भएको आन्दोलनमा पोखरा क्षेत्रका पर्यटन सहितका व्यवसायिक संस्थाका प्रतिनिधि सहभागि थिए। उनीहरुले नेपाल राष्ट्रबैंक पोखरा कार्यालय मार्फत गर्भनरलाई ज्ञापनपत्र पनि बुझाएका छन्।

व्यवसायीले बैंक तथा बित्तीय संस्थाको ब्याजदर वृद्धि सबैभन्दा बढी तनावको विषय बनेको बताए। पर्यटन व्यवसायी सन्तोष पोखरेलले भने।

‘अहिलेको अवस्थामा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने कुरा महत्वपूर्ण छ। चर्काे सेवा शुल्क पनि खारेज गर्नुपर्ने हो। ब्याजदर चर्काे हुँदा नयाँ लगानीकर्ता थप लगानी गर्नमा हच्केका छन,’ पोखरेलले भने, ‘निर्माणाधिन पूर्वाधार पनि  लगानीको अप्ठेरोले बीचमै रोकिने अवस्था आएको छ।’

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ब्याजदर उच्च भएकोले व्यवसायी समस्यामा परेको बताए। पर्यटन क्षेत्र झनै अप्ठेरोमा रहेको उनले बताए। व्याजदर वृद्धिले किस्ता तिर्न सक्ने अवस्था पनि नरहेको उनले बताए। ‘हामी ऋण नतिर्ने भनेका छैनौ। समय थपिदेउ मात्र भनेका हौ। तर, समय बढाउने भनेपनि बढाइएन,’ सुवेदीले भने, ‘एकल अंकमा लिएको ऋणको ब्याजदर अहिले दुइअंकमा उक्लेको छ। व्यवसायीलाई यसले निकै नै मारमा पारेको छ। यस्तै अवस्था आए व्यवसायी नै पलायन हुनेछन।’

व्यवसायीले अरु क्षेत्रमा जस्तै वित्तीय संस्थाले पर्यटनलाई पनि उत्तिकै प्राथमिकतामा पानुपर्छ भन्ने माग राखेको उनले बताए। ‘सबैभन्दा बढी समस्या ब्याजदर वृद्धि हो। अहिले किस्ता तिर्न सक्ने अवस्था छैन। वित्तीय संस्थाले ताकेता गरिरहेका छन,’ उनले भने, ‘सबैतिरको दवावमा व्यवसायी छन्। ब्याजदर मात्र वृद्धि गरिएन की व्यवसायीलाई अप्ठेरो पार्नेगरि नयाँनयाँ नियम लागु गरिएको छ।’ आन्दोलमा उत्रेका व्यवसायीको र्‍याली चिप्लेढुंगाबाट सुरु भई राष्ट्रबैंक पुगेर टुंगिएको थियो।

व्यवसायीका अनुसार पछिल्लो एकवर्ष अवधिमा बैंकले किस्ताको ब्याजदर झन्डै दोब्बरले बढाएका छन्। अधिकांश बाणिज्य बैंकले कर्जाको ब्याजदर १५ प्रतिशत भन्दा माथि पुर्‍याएको व्यवसायीको गुनासो छ। नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा व्यवसायमा सकस थपिएको बताए। ‘कोरोना भाइरस संक्रमणले उठ्न नपाउँदै व्यवसायीलाई वित्तीय संस्थाले सकस थपिदिएका छन। अहिले विषम परिस्थति छ। यो बेला व्यवसायीलाई राहत दिनुपर्नेमा झनै अप्ठेरो पारिएको छ,’ कोइरालाले भने, ‘वित्तीय संस्थाका कतिपय काम गैरकानुनी छन। यो बेला अप्ठेरोमा परेको व्यवसायिक क्षेत्रलाई राहत दिनुपर्नेमा झर्न अप्ठेरो अवस्था ल्याइएको छ।’

कोइरालाले बैंक तथा वित्तीय संस्थाहरु सिन्डिकेटबाट चलेको आरोप लगाए। ‘सवैजसो वित्तीय संस्थाले एकैखालको गतिविधि गरेका छन्। मिलेमतो वित्तीय संस्थामा छ। वित्तीय संस्थालाई सिन्डिकेटबाट नचल्न भनेका छौ। सोझो साझा मान्छेलाई थाहै नदिई किस्ता नबढाउने तर समय बढाउने गरिएको छ,’ उनले भने, ‘सोझासाझा ग्राहकलाई थाहै नदिई बैकले जे मन लाग्यो त्यही काम गरेका छन्।’ उनका अनुसार कतिपय वित्तीय संस्थाले किस्ताको ब्याजदर १८ प्रतिशतसम्म पुर्‍याउने संकेत दिएका छन्। तर, अहिले अनुपातमा १५ प्रतिशत छ।

‘अहिले सांकेतिक रुपमा मात्र शान्तिपूर्ण ढंगले आन्दोलनमा उत्रेका हौ। योसमेत गरेर बढेको ब्याजदर घटाउन तीनपटकसम्म राष्ट्रबैंकमा अनुरोध गरेका छौ। तर, समस्या समाधान नभए थप आन्दोलन पनि गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘वित्तीय संस्थाको ब्याजदर एकल अंकमा नझरेसम्म व्यवसायीलाई लाभ पुग्दैन।’

आन्दोलनमा सहभागि पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना संक्रमणपछि पर्यटन क्षेत्र सबैभन्दा बढी सकसमा रहेको बताए। उनका अनुसार अहिले पर्यटन क्षेत्र चलायमान जस्तो देखिएपनि व्यवसायीले कमाउन पाएका छैनन। निकै नै कम संख्यामा विदेशी पाहुना पोखरा आउँदा व्यावसायीको आम्दानी छैन। ‘बैंकलाई तिर्ने पैसा नभएर व्यवसायी तनावमा छन। यही हिसाबले व्यवसाय गर्न गाह्रो छ,’ श्रेष्ठले भने, ‘बैंकले ताकेता गरेको गरै छन, तर, व्यवसायी आर्थिक रुपमा हायलकायल छन्।’

उनका अनुसार अहिले कम्तिमा १५ प्रतिशतसम्म ब्याजदर वित्तीय संस्थाले व्यवसायीसँग असुलेका छन्। ऋण लिँदा सात प्रतिशत हाराहारीमा रहेको ब्याजदर अहिले दोब्बर बढी हुँदा पनि सरकारले रोक्ने प्रयास नगर्दा व्यवसायी अप्ठेरोमा रहेको उनले बताए। ‘हामीले ऋण नतिर्ने भनेका छैनौ। मात्र बढेको ब्याजदर घटाइदेउ भनेका हौ,’ उनले भने, ‘किस्ता तिर्न सक्ने अवस्था पनि अहिले व्यवसायीमा छैन। दोब्बरले ब्याजदर बढेपछि व्यवसायी तनावमा छन्।’

You may also like...

“प्रविधिको प्रयोगले सुशासन स्थापित गर्न सघाउँछ ” पोखरा, १३ चैत । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले प्रविधिले आमने सामने भएर गरिने कामलाई कम गराउँदै छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पु¥याउने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुका लागि आयोजना गरेको दुई दिने डिजिटलमार्केटिङ एण्ड सोसल मिडिया तालिमको बिहिबार समापन समारोहमा भण्डारीले डिजिटल मार्केटिङबाट विश्वलाई जोडेर पर्यटन प्रर्वद्धन गर्न सकिने र प्रविधिबाट हरेक गतिविधि पारदर्शी हुने हुँदा सुशासन कायम हुने बताउनु भएको हो । उहाँले पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिशाली माध्यम बन्दै गएको जनाउँदै यसको सही सदुपयोग गरेर फाइदा लिन व्यवसायीलाई आग्रह गर्नुभयो । “प्रतिष्पर्धाको बजारमा डिजिटल मार्केटिङमा पछाडि परे व्यवसाय पनि पछाडि पर्ने पर्छ, प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञानलिन सके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिन्छ ।” भण्डारीले भन्नुभयो । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न तालिममा परिषदका संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले प्रविधिको प्रयोगलाई सदुपयोग गर्न सके व्यवसायिक सफलता हासिल गर्न सकिने बताउनुभयो । कोभिड १९ को कारणले व्यवसायमा शिथिलता आएको जनाउँदै अब प्रविधिको माध्यमबाट पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नविनतम् सोचको खाँचो औल्याउनुभयो । कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनु भएका परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय सेवाप्रदान गर्नका लागि तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालिमले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सहभागीको तर्फबाट तालिमको अनुभव राख्दै कमला गिरीले विश्वको जुनसुकै स्थानमा बसेर पनि डिजिटिल मार्केटिङबाट व्यवसाय प्रवद्र्धन गर्न सकिने कुरा तालिमको सैद्धान्तिक व्यवहारिक ज्ञानबाट हासिल गर्न सफल भएको बताउनुभयो । तालिमका प्रशिक्षक पारस देवकोटाले सहभागीहरुले डिजिटल र सोसल मिडियाको बारेमा विभिन्न जिज्ञासासहित सहभागीता जनाएको बताउनुभयो । फेसबुक र गुगलबाट व्यवसायको प्रवद्र्धनका लागि सहभागीले बढी रुची देखाएको उहाँको भनाइ थियो ।सोसल साइटमा अनुत्पादक समय खर्च गर्नु भन्दा व्यवसायीक रुपबाट समय दिन सके व्यवसायिक लाभलिन सकिने उहाँको भनाइ थियो । । देवकोटासँगै सो तालिममा उज्जवल पौडेल, सुमिरन केसी, प्रतीकमणी पौडेलले समाजिक सञ्जाल र डिजिल मार्केटिङ सम्बन्धि विविध विषयको सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिनुभएको थियो । संस्थाका महासचिव रामचन्द्र शर्माले परिषदसँग आवद्ध १२ संस्था करिब एक सय जना पर्यटन व्यवसायीहरु तालिममा सहभागिता रहेको र उनीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *