Home > News & Events > माउन्ट केटुका आरोहीलाई पोखरामा भव्य स्वागत (तस्बिर सहित) नागरिक अभिनन्दन गरिने

माउन्ट केटुका आरोहीलाई पोखरामा भव्य स्वागत (तस्बिर सहित) नागरिक अभिनन्दन गरिने

माउन्ट केटुका आरोहीलाई पोखरामा भव्य स्वागत (तस्बिर सहित)

नागरिक अभिनन्दन गरिने

पोखरामा सोमबार माउन्ट केटु आरोहीलाई स्वागत र बजार परिक्रमा गराइँदै । तस्बिरः उमेश पुन÷नागरिक

विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटु (८६११ मिटर) आरोहण गरेर हिमाल आरोहणको क्षेत्रमा इतिहास रचेका नेपाली आरोहीलाई सोमबार पोखरामा भव्य स्वागत गरिएको छ । आरोहीले गण्डकी प्रदेशको पहिचान बढाएको भन्दै पोखराका पर्यटन व्यवसायीले आरोहीलाई स्वागत गरेका हुन् ।

सोमबार बिहान काठमाडौंबाट जहाजमार्फत पोखरा आएका सबै आरोहीलाई सम्मान स्वरुप बजार परिक्रमा गराइएको थियो । उनीहरुलाई नागरिक अभिनन्दन पनि गरिने आयोजकले बताएको छ । आयोजक पोखरा पर्यटन परिषद् (पिटिसी)ले आरोहीको सम्मानमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा संयोजक समेत रहेका सुशील पौडेलले आरोहीले प्रदेशको मात्र नभई समग्र नेपालको पर्यटन क्षेत्रलाई उच्च पहिचान दिलाउन सकेको भन्दै सम्मानको कार्यक्रम राखेको बताए । ‘ती सबै आरोही हिमाली क्षेत्रका हिरो हुन् । उनीहरुलाई सम्मान गर्दा समग्र नेपालकै पहिचान बढ्नेछ,’ उनले भने ।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल अध्यक्ष समेत रहेका पौडलले आरोहीले आफुहरुलाई मात्र नभई नेपालको पनि पहिचान बढाउन सफल भएको बताए । आरोहीको सफलता अन्नतः पर्यटनमा जोडिने उनले बताए ।

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले उक्त हिमाल आरोहणमा कीर्तिमान कायम गरेका हुन् । उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् । आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो । टोलीले हिउँद याममा माघ ३ गते शनिवार साँझ करिब ५ः४५ बजे केटु शिखर चुम्दै कीर्तिमान बनाएको हो ।

संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न नसकेको अवस्थामा नेपाली आरोहीले कीर्तिमानी कायम राखेकोले सम्मान गरेको परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराइले बताए । ८ हजार मिटर भन्दा माथिका हिमालमध्ये यो मात्र हिउदँमा आरोहण हुन सकेको थिएन । हिउँदमा पहिलो पटक नेपाली आरोहीहरुले सफलतापुर्वक आरोहण गरेर इतिहास रच्न सफल भएको उनले बताए ।

आरोहण सफलताको महान कार्यले विश्वमा नै नेपाल र नेपालीको विरतालाई सधंै र सदाका लागी अविश्मरणीय बनाएको पनि अध्यक्ष भट्टराइले बताए । ‘वास्तवमा यो टोलीप्रति नेपाल र नेपालीले गर्व गर्नुपर्छ । विश्व मानचित्रमा नेपाल र नेपालीको गौरवमय इतिहास रच्न सफल भएका छन्,’ उनले भने । पाकिस्तानमा रहेको ८ हजार ६११ मिटर अग्लो केटु हिमाल आरोहण गर्नुलाई निकै नै कठिन मानिन्छ । माउन्ट केटुलाई आरोहणका लागि संसारकै जोखिमयूक्त हिमाल मानिन्छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *