Home > News & Events > पोखराका ६ जना पदयात्रा पर्यटन व्यवसायीहरुले धम्पुस पिकको सफल आरोहण गरे

पोखराका ६ जना पदयात्रा पर्यटन व्यवसायीहरुले धम्पुस पिकको सफल आरोहण गरे

पोखराका ६ जना पदयात्रा पर्यटन व्यवसायीहरुले धम्पुस पिकको सफल आरोहण गरे

पोखरा, ४ माघ । ६०१२ मीटर अग्लो धम्पुस पिक (थापा पिक) गण्डकीका ६ जना पर्यटन व्यवसायीहरुले शनिवार बिहान हिमालको सफल आरोहण गरेका छन् ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशले आयोजना गरेको धम्पुस पिक (थापा पिक) आरोहणको लागि १० जनामध्ये ६ जना धम्पुस पिकको शिखरमा बिहान ११ः४८ बजे पुगेको कार्यक्रम संयोजक जीवनराज सापकोटाले जानकारी दिए ।

धम्पुस पिक आरोहणमा सबैभन्दा पहिला मनु गुरुङ र हिराकुमारी मल्ल पुगिन् भने त्यसपछि पुरुष आरोहीहरु पुगेको उनले जानकारी गराए ।

आशिष गुरुङ र अनुप गुरुङ (माउण्टेन गाइड तथा प्रशिक्षक)सहित सफल आरोहीहरुमा सुदिप गौतम (कास्की), दिपेशबाबु सुवेदी (कास्की), टासी पासाङ गुरुङ (मुस्ताङ), हिराकुमारी मल्ल (स्याङजा), मनु गुरुङ (मनाङ) र सनकुमार जुग्जाली (म्याग्दी) छन् ।

तीब्र गतिमा चलेको हावाका कारण जीवनराज सापकोटा, छिरिङ लामा शेर्पा, प्रकाश वस्ताकोटी १५० मीटर तलबाटै फर्किए भने पत्रकार दीपक परियार लेकलागेका कारण आधार शिविरबाट फर्केका थिए ।

फोटो: आशिष गुरुङ

कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आर्थिक सहकार्य तथा गण्डकी प्रदेश सरकार एवम् उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्यमा प्रबद्र्धनात्मक आरोहणको आयोजना गरिएको हो ।

धम्पुस पिक आरोहणको लागि जीवनराज सापकोटाको संयोजकत्वमा २६ जनाको समूह सोमवार पोखराबाट त्यसतर्फ प्रस्थान गरेका थिए । प्रस्थान अघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आरोहीहरुलाई झण्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना दिएका थिए ।

६ जना धम्पुस पिकको आरोहणपछि नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण संघ (गण्डकी प्रदेश)ले संयुक्त विज्ञप्ति प्रकाशित गरेर खुशी व्यक्त गरेको छ ।

पर्वतारोहण र पर्वतीय पर्यटनका लागि नेपाल विश्वमै अग्रणी रहेको पनि आन्तरिक पर्यटन प्रवर्धनको उद्देश्य राखेर नेपालीहरुलाई पनि तुलनात्मक रुपमा कम खर्च र प्राविधिक तयारीमा नै धम्पुस पिक जस्ता धेरै हिम शिखरहरुको अरोहण गराउन सकिन्छ भन्ने संदेश दिन यो अभियानको शुरुवात भएको नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण संघ(गण्डकी प्रदेश)को संयुक्त विज्ञप्ति प्रकाशित गरी जानकारी गराइएको छ ।

‘हाल आन्तरिक पर्यटकहरु दृश्यावलोकन पदयात्रा, प्याराग्लाइडिङ, राफ्टिङ, जंगल सफारी जस्ता पर्यटकीय गतिविधिहरुमा अत्याधिक रमाउने गरेका छन भने धम्पुस पिकको सफल आरोहणले अब उप्रान्त आन्तरिक पर्यटकहरुका लागि पर्वतारोहण पनि आर्कषक पर्यटकीय उपजको रुपमा स्थापीत हुने विश्वास लिइएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘आरोहण टोलीमा पदयात्रा पर्यटन व्यवसायीहरु समेत भएकाले आन्तरिक पर्यटकहरुका लागि उपयुक्त पर्वतारोहणको प्याकेज तयार गर्न समेत मद्दद पुग्ने छ ।’

सबै तस्विर आशिष गुरुङ

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *