Home > News & Events > मर्दी हिमाल पदयात्रा सुरु

मर्दी हिमाल पदयात्रा सुरु

मर्दी हिमाल पदयात्रा सुरु

आइतबार, ०१ चैत २०७७

 

समाधान संवाददाता, पोखरा

पदयात्रालाई चाहिने ट्रेकिङ सामग्री बेच्ने पोखरामा ७५ वटा पसल छन् । आफूले बेचेको सामानले पदयात्रीलाई कति सहज÷असहज भयो भन्ने अधिकांश व्यापारी जानकार छैनन् । आफैंले बेच्ने सामग्रीसहित ट्रेकिङ रुटबारे बुझ्न पोखराका ट्रेकिङ सप संचालक ४ दिने पदयात्रामा निस्किएका छन् ।

पदयात्रालाई आवश्यक सामग्री प्रयोग, प्रचार गर्न र तिनिहरुको विश्वसनीयता बुझ्न ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन (टेसा) पोखराको आयोजनामा आइतबारदेखि मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्री चिनारी कार्यक्रम सुरु भएको हो ।

टोलीमा ट्रेकिङ सप व्यवसायीसहित होटल व्यवसायी, अन्य पर्यटन व्यवसायी र पत्रकार गरेर ३० जना सहभागी छन् ।

आउँदो चैत ४ गतेसम्म यो टोली मर्दीको ४ हजार उचाइमा रहेको भ्युपोइन्टसम्म पुग्ने टेसाका निवर्तमान अध्यक्ष एवं पदयात्रा संयोजक रामचन्द्र गिरिले जानकारी दिए । काँडेबाट पैदलयात्रा थालेको टोली पहिलो दिन ८ घन्टा हिँडेर २५ सय उचाइको फरेस्ट क्याम्पमा बसेको छ ।

‘हामीले पर्यटकलाई पदयात्रालाई चाहिने सामग्री बेच्छौं । हिँड्दाहिँड्दै त्यो सामग्रीले केही समस्या आउन सक्छ,’ टेसा पोखरा अध्यक्ष नारायण सापकोटाले भने, ‘यहाँ एकपटक आएपछि भोलि ग्राहकलाई पनि के(के लैजानपर्छ भनेर अनुभवसहित जानकारी दिन पाइन्छ ।’

टोलीलाई आइतबार पोखराबाट बिदाइ गर्दै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले कोभिड १९ बाट पदयात्रा पर्यटन सुरक्षित रहेको सन्देश दिन पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

‘ट्रेकिङ ट्रेलमा विदेशीको आकर्षण बढेको छ । अहिले विदेशी पर्यटक आउने अवस्था छैन,’ उनले भने, ‘पोखरा, देश र विदेशमा पनि प्रचार गर्न आवश्यक छ ।’

आन्तरिक पर्यटन उत्थान गण्डकी संयोजक अग्नी कँडेलले मर्दीमा पर्यटकको आकर्षण बढेको र अब संरक्षण गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने बताए । ‘मर्दीलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने स्थानीयसँग छलफल गर्नुस्, सरकारलाई सुझाव दिने, सुझाव सल्लाह दिए सरकारले नीति बनाउने हो,’ उनले भने ।

आइतबार फरेस्ट क्याम्पमा बसेको टोली सोमबार बिहान बादल डाँडा हुँदै हाइक्याम्प पुगेर बाँस बस्नेछ । मंगलबार हाइक्याम्पबाट भ्यु पोइन्ट जाने टोली सोही दिन बादलडाँडा फर्किएर बाँस बस्नेछ । बुधबार त्यहाँबाट सिदिङ, लुम्रे हुँदै पोखरा फर्किने छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *